रेडियो नेपालको प्रसारण सेवामा गम्भीर असर पर्ने चेतावनी, आकस्मिक निर्णय नलिए जेठ १ देखि ठूलो संकट आउने
काठमाडौं । रेडियो नेपालमा कार्यरत वरिष्ठ पत्रकार प्रमाेद दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको स्टाटसमा प्रसारण सेवासम्बन्धी तत्काल निर्णय नलिए जेठ १ गतेदेखि संस्थाको प्रसारण प्रणालीमा गम्भीर संकट उत्पन्न हुने चेतावनी दिएका छन्।
दाहालले लेखे अनुसार आकस्मिक रूपमा भोलिसम्म कुनै ठोस निर्णय नलिइएमा जेठ १ गतेदेखि रेडियो नेपालको प्रसारण इतिहासमै “ठूलो धब्बा” लाग्ने अवस्था आउनेछ। उनले समावेशी प्रसारणअन्तर्गत सञ्चालन भइरहेका विभिन्न २८ भाषाका समाचार तथा कार्यक्रमहरू र देशका विभिन्न स्थानमा रहेका ३३ वटा रिले प्रसारण केन्द्र (एफएम) बन्द हुने जोखिम रहेको उल्लेख गरेका छन्।
उनका अनुसार यी सेवा बन्द भएमा रेडियो प्रसारण प्रणालीमा मात्र होइन, समग्र सार्वजनिक सञ्चार पहुँचमा पनि गम्भीर असर पर्नेछ। विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायहरू, जसले स्थानीय रिले स्टेशनमार्फत रेडियो सुन्ने गरेका छन्, उनीहरू प्रत्यक्ष रूपमा प्रभावित हुने उनले संकेत गरेका छन्।
दाहालले आफ्नो स्टाटसमा सम्बन्धित निकायहरूको उदासीनता र निर्णय प्रक्रियामा देखिएको ढिलासुस्तीप्रति पनि प्रश्न उठाएका छन्। उनले प्रश्न गरेका छन्—“चासो कसको हो ? सम्बन्धित निकायहरूको अकर्मण्यता किन देखिन्छ ? जिम्मेवार को हो ?” भन्दै जिम्मेवारीबाट पन्छिने प्रवृत्तिप्रति आलोचना गरेका छन्।
उनको भनाइमा यदि समयमै समाधान निकालिएन भने यसले दीर्घकालीन रूपमा संस्थागत इतिहासमै नकारात्मक प्रभाव पार्नेछ र त्यसको मूल्य भविष्यले हिसाब गर्नेछ।
सरकारी स्वामित्वमा रहेको रेडियो देशको सबैभन्दा पुरानो प्रसारण संस्थामध्ये एक हो, जसले लामो समयदेखि राष्ट्रिय समाचार, शिक्षा र सांस्कृतिक कार्यक्रमहरू प्रसारण गर्दै आएको छ।
समावेशी प्रसारण र क्षेत्रीय पहुँच विस्तार यसको प्रमुख विशेषता मानिन्छ।
क्याटेगोरी : Uncategorized, समाचार













प्रतिक्रिया