घरबाट हराएकी २१ वर्षीया रमाको हत्या, खोलामा भेटियो शव
काठमाडौं । झापाको दमक नगरपालिका-१० स्थित सेतुमाडीमा शनिबार बिहान बोरामा पोको पारिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।
शव दमक नगरपालिका-८ बसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारीको रहेको खुलेको हो । उनको शव रतुवा खोलामा फेला परेको थियो ।
रमा बुधबार राति घरबाट हराएकी थिइन् । शनिबार बिहान करिब ११ बजे रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार अन्यत्र कतै हत्या गरी शव पुलमाथिबाट खोलामा फालिएको जस्तो देखिन्छ ।
उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शव हेरेर आफ्नै छोरी भएको पहिचान गरेका थिए ।
आफन्तले प्रहरीलाई रमा गत जेठ १३ गते राति करिब ९:३० बजे घरबाटै हराएको बताएका थिए । घर नफर्किएकी उनको खोजी भइरहेकै अवस्थामा शनिबार विभत्स अवस्थामा शव फेला परेको हो ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया