Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

नेपाल–चीन सांस्कृतिक पर्यटन परियोजनाले द्विपक्षीय सहकार्य थप मजबुत बनाउने : मन्त्री श्रेष्ठ


काठमाडौं। वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक पर्यटन परियोजनाको शुभारम्भले नेपाल–चीनबीचको सहकार्य, आपसी विश्वास र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले चीन–नेपाल अन्वेषण यात्राअन्तर्गत सञ्चालन गरिएको उक्त परियोजनाले पर्यटन क्षेत्रको विकाससँगै दुई देशबीचको जनस्तरीय सम्बन्धलाई समेत बलियो बनाउने बताए।

कार्यक्रममा परियोजनाका प्रतिनिधि हुवाङ लेईले मासिक करिब छ हजार चिनियाँ पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको जानकारी दिए। उनका अनुसार वार्षिक रूपमा ७२ हजारदेखि एक लाख २० हजारसम्म चिनियाँ पर्यटक नेपाल ल्याउने योजना रहेको छ।उनले चिनियाँ पर्यटकको संख्या वृद्धि हुँदा होटल, यातायात, कृषि, हस्तकला तथा सेवा क्षेत्रहरूमा रोजगारीका अवसर विस्तार हुने उल्लेख गर्दै पर्यटनलाई केवल व्यवसायका रूपमा नभई राष्ट्र निर्माणको महत्वपूर्ण आधारका रूपमा विकास गर्न सकिने बताए।

हुवाङले चिनियाँ पर्यटकलाई लक्षित गरी काठमाडौं, नगरकोट, चितवन र पोखरालाई समेटेर सातदिने विशेष पर्यटन प्याकेज सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।कार्यक्रममा नेपाल पाण्डा इन्टरनेशनल ट्राभल एजेन्सीका शैलेन्द्र ढुंगेल र हिमालयन एयरलाइन्सका अध्यक्ष झाउ एनयोङले मौसमी प्रभावका कारण पर्यटक आगमनमा उतारचढाव आउने भएकाले चारै ऋतुमा पर्यटक आकर्षित गर्ने रणनीतिका साथ काम गर्नुपर्नेमा जोड दिए।

उनीहरूले नेपाल–चीन पर्यटन सहकार्यलाई संस्थागत र दिगो बनाउँदै पर्यटन प्रवर्द्धनका नयाँ अवसरहरू सिर्जना गर्न आवश्यक रहेको धारणा राखेका थिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट