Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने बाटो खुल्यो, फैसला कार्यान्वयन गर्न निर्देशन


काठमाडौं । अब १०० शय्या क्षमता वा सो भन्दा माथि भएका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो कार्यान्वयनमा आउने भएको छ ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले राष्ट्रिय चिकित्सा शिक्षा आयोग र शिक्षा तथा खेलकुद मन्त्रालयलाई उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न निर्देशन दिएसँगै १०० शय्या क्षमता वा सो भन्दा माथि भएका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो खुलेको हो । थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने बाटो खुलेको छ ।

उच्च अदालत पाटनले कानुनअनुसार कार्यक्रम सञ्चालनमा कुनै रोकावट नरहेको फैसला गरिसकेको भए पनि कार्यान्वयन हुन नसकेको भन्दै आयोगका पूर्वसदस्य डा. पदम खड्काले फैसला कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन दिएका थिए ।

निर्देशनालयले उच्च अदालतको आदेश कार्यान्वयन गर्दै सोको जानकारी निर्देशनालयमा पठाउन निर्देशन दिएको छ । योसँगै अब एक सय बेड क्षमता वा त्योभन्दा माथि भएका मेडिकल कलेजहरूले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउनेछन् ।

निर्देशनालयको यो निर्देशनसँगै थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउनेछन् । आयोगले ३० साउन २०७७ मा गरेको निर्णयमार्फत एउटै संस्थाले बीएन, बीएस्सी वा एमएनमध्ये एउटा मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गरेपछि धेरै संस्थामा पीसीएल नर्सिङ कार्यक्रम बन्द भएको थियो ।

चिकित्सा शिक्षा ऐनमा नभएको व्यवस्था कार्यकारी समितिबाट लागू गरिएको आरोप लगाउँदै आयोगको निर्णय खारेजको माग गर्दै उच्च अदालत पाटनमा रिट परेको थियो । अदालतले कानुनअनुसार कार्यक्रम सञ्चालनमा कुनै रोकावट नरहेको गत वर्ष फैसला गरेको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट