Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

जनताले सांसदको काम नियालिरहेका छन्, थप जिम्मेवार बन्नुपर्छ : सभामुख अर्याल


काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको काम, व्यवहार र कार्यशैलीलाई मतदाता तथा आमजनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेको उल्लेख गर्दै जनप्रतिनिधिहरू थप जिम्मेवार र उत्तरदायी बन्नुपर्ने बताएका छन्।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि सोमबार आयोजना गरेको संसदीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले कानुन निर्माण प्रक्रियामा विगतका सकारात्मक अभ्यासबाट सिक्न, अध्ययनशील बन्न र प्रविधिमैत्री कार्यशैली अपनाउन सांसदहरूलाई सुझाव दिए।

‘प्रतिनिधिसभामा धेरै नयाँ सदस्यहरू हुनुहुन्छ। संसदीय विधि र प्रक्रियाबारे थप जानकारी दिन तथा सांसदहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने, ‘संसदीय अभ्यास र प्रक्रियामा दक्ष बन्न यो सिकाइ उपलब्धिमूलक हुनेछ भन्ने विश्वास लिएको छु।’

सभामुख अर्यालले जनताबाट निर्वाचित भएपछि सांसदहरूको जीवन निजी दायराबाट सार्वजनिक उत्तरदायित्वमा प्रवेश गर्ने भएकाले आफ्नो भूमिका र जिम्मेवारीप्रति थप सचेत हुनुपर्नेमा जोड दिए।कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले स्वागत मन्तव्य राख्दै सांसदहरूलाई संसदीय प्रक्रिया, विधि र अभ्यासबारे थप जानकारी गराउने उद्देश्यले दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

सचिवालयले सिंहदरबारस्थित संसद् भवन परिसरमा सोमबार र मङ्गलबार उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममार्फत सांसदहरूलाई संसदीय अभ्यास, विधि निर्माण प्रक्रिया तथा प्रभावकारी जनप्रतिनिधित्वका विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट