Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

फेसबुक बन्यो अवैध वन्यजन्तु तस्करीको सबैभन्दा ठूलो अनलाइन बजार


काठमाडौं। वन्यजन्तु संरक्षणसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले फेसबुक विश्वव्यापी रूपमा अवैध वन्यजन्तु तस्करीको प्रमुख अनलाइन माध्यम बनेको दाबी गरेको छ।

‘ग्लोबल इनिसिएटिभ अगेंस्ट ट्रान्सनेशनल अर्गनाइज्ड क्राइम’ले गरेको अध्ययनअनुसार सामाजिक सञ्जालमा हुने अवैध वन्यजन्तु व्यापारमध्ये अधिकांश गतिविधि फेसबुकमा केन्द्रित रहेको उल्लेख गरिएको छ।

प्रतिवेदनमा अप्रिल २०२४ देखि मार्च २०२६ सम्मको अवधिमा विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा २० हजारभन्दा बढी विज्ञापन तथा दुई लाख ६० हजारभन्दा बढी वन्यजन्तु र तिनका अङ्गसँग सम्बन्धित बिक्री पोस्ट फेला परेको जनाइएको छ। तीमध्ये करिब ७५ प्रतिशत सामग्री फेसबुकमा मात्र देखिएको दाबी गरिएको छ।

अध्ययनले बिक्रीका लागि राखिएका करिब ८४ प्रतिशत वन्यजन्तु तथा तिनका उत्पादनहरू अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी ‘साइटिस’ सन्धिअन्तर्गत प्रतिबन्धित रहेको उल्लेख गरेको छ। त्यसमध्ये आधाभन्दा बढी प्रजाति संकटग्रस्त वा अत्यन्त संकटग्रस्त सूचीमा रहेका जनाइएको छ।प्रतिवेदनका अनुसार यस्ता अवैध उत्पादनहरूको विज्ञापित कुल मूल्य ६ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी रहेको छ।

शोधकर्ताहरूले सालक, गैँडाको खाग, चिम्पान्जी तथा विभिन्न संरक्षित चराचुरुङ्गी र तिनका अङ्गहरूको अनलाइन बिक्री भइरहेको उदाहरणहरू प्रस्तुत गरेका छन्। उनीहरूले मेटाको विज्ञापन र सब्सक्रिप्सनजस्ता आम्दानीका मोडलले यस्ता अवैध गतिविधिमा संलग्न खाताहरूलाई अप्रत्यक्ष रूपमा आर्थिक लाभ पुर्‍याएको आरोप पनि लगाएका छन्।

यद्यपि, फेसबुकको मातृ कम्पनी मेटाले प्रतिवेदनमा उल्लेख गरिएका आरोपबारे विस्तृत प्रतिक्रिया दिएको छैन। कम्पनीले आफ्नो प्लेटफर्ममा संकटग्रस्त वन्यजन्तु तथा तिनका उत्पादनहरूको खरिद–बिक्रीमा पूर्ण प्रतिबन्ध रहेको र त्यस्ता गतिविधिविरुद्ध आवश्यक कदम चालिँदै आएको जनाएको छ।

वन्यजन्तु संरक्षणकर्मीहरूले डिजिटल प्लेटफर्महरूमा हुने अवैध व्यापार नियन्त्रणका लागि प्रविधिमैत्री निगरानी प्रणाली, कडा सामग्री नियमन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट