Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

अमेरिकी प्रविधि कम्पनीमाथि कर लगाए शतप्रतिशत भन्सार महसुल लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल सेवा कर (डीएसटी) लगाउने देशविरुद्ध कडा व्यापारिक कदम चाल्ने चेतावनी दिएका छन्। उनले यस्तो कर लागू गर्ने मुलुकबाट अमेरिकामा आयात हुने सबै सामानमा १०० प्रतिशत भन्सार महसुल लगाइने बताएका हुन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत ट्रम्पले विशेषगरी युरोपेली सङ्घ (ईयू) का नियामकहरूलाई लक्षित गर्दै अमेरिकी कम्पनीमाथि अतिरिक्त कर लगाउने प्रयास अस्वीकार्य हुने बताएका छन्। उनका अनुसार डिजिटल सेवा कर लागू गरिए त्यसको जवाफस्वरूप तत्काल उच्च भन्सार महसुल लागू गरिनेछ।

ट्रम्पले यस्तो कदमले विद्यमान व्यापार सम्झौतासमेत प्रभावहीन हुने संकेत दिएका छन्। उनले यसलाई अमेरिकी प्रविधि कम्पनीहरूको हित संरक्षणका लागि आवश्यक कदमका रूपमा प्रस्तुत गरेका छन्।

युरोपेली सङ्घले ‘डिजिटल सर्भिस एक्ट’ (डीएसए) अन्तर्गत सामाजिक सञ्जाल तथा ठूला प्रविधि कम्पनीमाथि कडा नियमन लागू गर्दै आएको छ। हाल उक्त कानुनको दायरा विस्तार गरी क्लाउड सेवा प्रदायकहरूलाई समेत समेट्ने विषयमा छलफल भइरहेकाले अमेरिका र ईयूबीच व्यापारिक तनाव बढ्ने संकेत देखिएको छ।

विशेषगरी मेटाले ईयूका विभिन्न नियामकीय निर्णय र जरिवानाको विरोध गर्दै आएको छ। डाटा गोपनीयता उल्लङ्घन, प्रतिस्पर्धासम्बन्धी नियम र फेसबुक मार्केटप्लेससँग सम्बन्धित विषयमा कम्पनीले अर्बौँ डलर बराबरको जरिवाना भोगिसकेको छ। मेटाका प्रमुख मार्क जुकरबर्गले ट्रम्प प्रशासनसँग सम्बन्ध सुधार गर्दै अन्तर्राष्ट्रिय व्यापारिक नीतिमा समर्थन खोजिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

यसैबीच, ‘पोलिटिको’का अनुसार डीएसएको दायरा विस्तार भई अमेजन वेब सर्भिस (एडब्ल्यूएस) र माइक्रोसफ्ट एजुरजस्ता क्लाउड सेवा पनि नियमनको दायरामा ल्याउने तयारी भइरहेको छ। यसप्रति अमेरिकी प्रविधि कम्पनीहरूले असन्तुष्टि जनाउँदै ह्वाइट हाउससँग सक्रिय रूपमा पैरवी गरिरहेका छन्।

ट्रम्पको पछिल्लो चेतावनीलाई अमेरिकी प्रविधि कम्पनीहरूको हित संरक्षणसँगै युरोपेली नियमनविरुद्धको कडा व्यापारिक सन्देशका रूपमा हेरिएको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट