Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

डोल्पामा खोलामा फेला परेको शव २४ घण्टापछि उद्धार, बेपत्ता युवकको पहिचान खुल्यो


डोल्पा । डोल्पामा खोलामा भेटिएको एक पुरुषको शव २४ घण्टाको प्रयासपछि उद्धार गरिएको छ। बिहान करिब ११ बजे स्थानीयवासीले खोलामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको थियो।

तर शव खोलाको गहिरो भागमा अड्किएको र भौगोलिक अवस्था अत्यन्त जोखिमपूर्ण हुनुका साथै पानीको बहाव बढेकाले आइतबार दिनभरको प्रयास सफल हुन सकेको थिएन।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार सोमबार बिहान प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिको उपस्थितिमा पुनः उद्धार अभियान सञ्चालन गरिएको थियो। सोही प्रयासपछि शवलाई सुरक्षित रूपमा निकाल्न सफल भएको हो।

प्रहरीका अनुसार मृतक सुर्खेतको बराहताल गाउँपालिका–६ स्थायी घर भई हाल शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मोमा काम गर्दै आएका ३८ वर्षीय विष्णु विक (मंगले कामी) रहेको पुष्टि भएको छ।

उनी गत असार ६ गते रिग्मो गाउँबाट बेपत्ता भएका थिए। सोमबार शव उद्धारपछि उनकी श्रीमतीले सनाखत गरेसँगै पहिचान खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट