Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

गुल्मीमा ११ प्रतिशत मात्रै धान रोपाइँ, वर्षा नहुँदा किसान चिन्तित


गुल्मी। पर्याप्त वर्षा नहुँदा गुल्मीमा यस वर्ष धान रोपाइँ प्रभावित भएको छ। जिल्लाका अधिकांश खेतीयोग्य जमिन अझै आकाशे पानीमा निर्भर रहेकाले हालसम्म कुल क्षेत्रफलको ११ प्रतिशतमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ।

कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाकाम न्यौपानेका अनुसार आइतबारसम्म ७१९.५१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। यस वर्ष जिल्लामा ६ हजार ५४१ हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान गरिएको छ।

राष्ट्रिय धान दिवस मनाइँदै गर्दा अधिकांश खेत बाँझै रहनुले किसान थप चिन्तित बनेका छन्।कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले पर्याप्त वर्षा नहुँदा पानीको अभाव सिर्जना भएको र त्यसले रोपाइँ प्रभावित बनाएको बताए। उनका अनुसार जिल्लाका ठूला फाँटहरूमा समेत सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसानले समयमै रोपाइँ गर्न सकेका छैनन्।

इस्मा गाउँपालिका–६ स्थित चौरासी फाँटका अगुवा कृषक कृष्ण घिमिरेका अनुसार गत वर्ष असार १५ सम्म उक्त फाँटमा करिब ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। तर, यस वर्ष आइतबारसम्म करिब १५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ।समयमै वर्षा नहुनु, सिँचाइको अभाव र रासायनिक मल सहज रूपमा उपलब्ध नहुनुले किसान थप समस्यामा परेको घिमिरेले बताए।

धुर्कोट गाउँपालिका–६ सिस्तुङका किसान मेघनाथ अर्यालले पनि पानीको अभावका कारण समयमा धान रोप्न नसकिएको बताए। पर्याप्त वर्षा भएपछि मात्र रोपाइँले गति लिने उनको भनाइ छ।

कृषि ज्ञान केन्द्रका अनुसार गुल्मीका अधिकांश धान उत्पादन हुने क्षेत्र अझै पनि आकाशे पानीमै निर्भर छन्। समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँ ढिलो हुनुका साथै यस वर्षको धान उत्पादनमा समेत नकारात्मक असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।जिल्लाका बडिगाढ, चौरासी, छल्दी, निस्ती, पनाहा, सुदी, खैरेनी, खज्र्याङ, शान्तिपुर र मजुवालगायतका फाँटहरू गुल्मीका प्रमुख धान उत्पादन क्षेत्रका रूपमा परिचित छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट