Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

तस्करी नियन्त्रण र सुरक्षा सुदृढीकरणमा रौतहट प्रहरीको नयाँ रणनीति: सीमा नाकामा कडाइ


रौतहट। खुला सीमाका कारण सुरक्षा र तस्करीको दृष्टिले संवेदनशील मानिने रौतहट जिल्लामा पछिल्लो समय सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको छ। सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गरेको जनाएको छ।

गृहमन्त्रीले हालै बारा र पर्सा जिल्लाको अनुगमनपछि सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण र सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्देशन दिएसँगै रौतहट प्रहरीले आफ्नो गतिविधि थप सक्रिय बनाएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जिल्लाको सुरक्षा अवस्थाको सूक्ष्म अध्ययन गर्दै सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँगको समन्वयमा सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाइएको बताए।

उनका अनुसार संवेदनशील क्षेत्रहरूको पहिचान गरी रणनीतिक रूपमा प्रत्येक पाँच किलोमिटरको दूरीमा प्रहरी पोस्ट वा मोबाइल गस्ती परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय गौरको प्रत्यक्ष निगरानीमा चन्द्रनिगाहापुर र गरुडास्थित प्रहरी कार्यालयसहित मातहतका १० इलाका प्रहरी कार्यालयमा करिब ९०० प्रहरी जनशक्ति परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले बारा, पर्सा र सर्लाहीका सुरक्षा निकायसँग अन्तरजिल्ला समन्वय र सूचना आदानप्रदानको व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार यसले सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ।

प्रहरीले अवैध कारोबार र तस्करीमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीलाई तीव्रता दिएको जनाएको छ। यसका कारण भन्सार छलीका सामान बरामद हुने क्रम बढेको र राजस्व सङ्कलनमा समेत सकारात्मक प्रभाव परेको प्रहरीको दाबी छ।

हाल सरमुजवा (बङ्कुल), मोतिपुर नरकटिया, रामपुरखात, जयनगर, मठिया, औरैया, बजरहा, अमरपट्टि, गौर भन्सार र बेलबिचवासहित विभिन्न क्षेत्रमा चौबीसै घण्टा गस्ती तथा चेकजाँचलाई निरन्तरता दिइएको छ।यसैबीच, रौतहटसँग सीमा जोडिएको बाराको सिम्रौनगढ क्षेत्रमा पनि अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निगरानी बढाइएको छ। इलाका प्रहरी कार्यालय सिम्रौनगढका अनुसार पछिल्ला आठ महिनामा करिब एक करोड १० लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ।

रौतहटको दक्षिणी सीमा भारतको बिहार राज्यस्थित सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएको छ। खुला सीमाका कारण विगतमा भन्सार छली, लागूऔषध ओसारपसार र साना हतियारको कारोबार चुनौतीका रूपमा रहँदै आएको थियो।

प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत स्थानीय बासिन्दा र युवाको सहभागिता बढाएर सूचना संयन्त्रलाई पनि सुदृढ बनाएको जनाएको छ। यसले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहयोग पुगेको प्रहरीको भनाइ छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट