भेनेजुएला महाभूकम्प: क्षीण बन्दै गएको आशाबीच भग्नावशेषबाट ‘चमत्कारी’ उद्धार
काठमाडौं। शक्तिशाली भूकम्पको चपेटामा परेको भेनेजुएलामा भग्नावशेषभित्रबाट जीवितै उद्धार गरिएका केही ‘चमत्कारी’ घटनाहरू सार्वजनिक भएका छन्। गत बुधबार मात्र ३९ सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा विनाशकारी भूकम्प जाँदा देशका सयौँ भवनहरू ध्वस्त भएका छन् भने हजारौँ नागरिक अझै पनि भग्नावशेषमा बेपत्ता छन्।
विपद्को पहिलो ४८ देखि ७२ घण्टाको महत्वपूर्ण समय घर्किसकेकाले थप मानिस जीवितै भेटिने आशा निकै कमजोर बनेको छ। तथापि, भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार उद्धार टोलीले सप्ताहन्तमा मात्रै ३३ जनालाई जीवितै बाहिर निकाल्न सफल भएका छन्।
यसरी जीवितै उद्धार गरिएकाहरूमा दुई जना ११ वर्षीय बालक समेत छन्, जसलाई आइतबार दुई फरक-फरक भत्किएका भवनबाट केही घण्टाको अन्तरालमा निकालिएको हो। तीमध्ये मोइसेस नाम गरेका एक बालक करिब ९.८ फिट गहिरो भग्नावशेषमा पुरिएका थिए।
कोलम्बियाको विपद् जोखिम व्यवस्थापन एकाइको टोलीले ६ घण्टाको कडा मिहिनेतपछि उनलाई बाहिर निकाल्दा तीव्र घामबाट आँखा जोगाउन पट्टी बाँधिएको थियो। ती बालक भेटिएको स्थान नजिकै उनकी आमा र दिदी भने मृत फेला परेका थिए।
त्यसको केही घण्टापछि काराबालेडा सहरबाट अर्का ११ वर्षीय बालकको पनि जीवितै उद्धार गरिएको भिडियो राष्ट्रपति रोड्रिगेजले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस घडीमा प्रत्येक नागरिकको जीवन देशका लागि आशाको किरण भएको उल्लेख गरेकी छन्। यसैगरी आइतबार नै फ्रान्सेली र अमेरिकी उद्धार टोलीले काराबालेडामा एक बुबा र उनका किशोर छोरालाई पनि सुरक्षित बाहिर निकालेका छन्।
यता भूकम्पबाट सबैभन्दा बढी प्रभावित तटीय क्षेत्र ला गुइरामा लगातार गइरहेका परकम्पहरूका कारण स्थानीय बासिन्दा अत्यन्तै त्रसित छन् र यसले उद्धार कार्यलाई समेत प्रभावित बनाएको छ। यसैबीच, सरकारको सुस्त र फितलो उद्धार प्रक्रियालाई लिएर जनतामा आक्रोश बढ्न थालेको छ। कारिबे र तानागुआरेनाजस्ता बढी प्रभावित क्षेत्रमा अझै पनि भग्नावशेष हटाउने काम सुरु हुन सकेको छैन।
सडकहरू बन्द गरेर सरकारले उल्टै उद्धारमा बाधा पुर्याएको स्थानीयको गुनासो छ। हाल हजारौँ विस्थापित मानिसहरू घर छोडेर गाडी, विमानस्थल र गल्फ कोर्षजस्ता खुला ठाउँमा पाल टाँगेर बसिरहेका छन्। काराबालेडाको एउटा गल्फ कोर्षलाई त अहिले आपत्कालीन राहत केन्द्र र अस्थायी अस्पतालमा परिणत गरिएको छ।
यस संकटपूर्ण घडीमा भेनेजुएलालाई सघाउन मेक्सिको, स्पेन, कतार, अमेरिका र बेलायतसहितका देशबाट अन्तर्राष्ट्रिय उद्धार टोलीहरू घटनास्थलमा खटिएका छन्। संयुक्त राष्ट्रसंघका टम फ्लेचरका अनुसार हाल विश्वभरबाट ३९ वटा खोज तथा उद्धार टोली परिचालन गरिएका छन्, जसमा झन्डै २ हजार विशेषज्ञ र १११ वटा तालिमप्राप्त कुकुरहरू सामेल छन्।
भत्किएका कठिन संरचनाहरूभित्र पुरिएका मानिसहरू फेला पार्नका लागि उद्धारकर्मीहरूले अचेल ‘ककरोच ड्रोन’ भनिने अत्याधुनिक माइक्रो ड्रोनहरूको समेत प्रयोग गरिरहेका छन्।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया