Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

लगानीकर्ताको हितमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन


काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनलाई शपथ गराएका हुन्।

गत असार ५ गतेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्षलाई पुँजीबजारका लगानीकर्ताको हित संरक्षण, लगानीको सुरक्षा तथा बजार सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।

उनले कुनै पनि प्रकारका लोभ, प्रलोभन वा बाह्य प्रभावबाट मुक्त भएर निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिलाई टेवा पुग्ने वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताए।

अर्थमन्त्री वाग्लेले पुँजीबजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन्। बजारमा फैलाइने अनावश्यक हल्लाले साना लगानीकर्तामा त्रास सिर्जना गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रण गरी बजारमा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए।

उनले मन्त्रालयबाट बोर्डको काममा हस्तक्षेप नहुने स्पष्ट पार्दै परिणाममुखी कार्यसम्पादनमा केन्द्रित हुन आग्रह गरे। साथै, बजारको अवस्था र प्रगतिबारे प्रत्येक हप्ता मन्त्रालयलाई जानकारी गराउन पनि अध्यक्ष भट्टलाई निर्देशन दिए।

कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीति र अर्थमन्त्रीको मार्गनिर्देशनअनुसार पुँजीबजारको विकास, लगानीकर्ताको हित संरक्षण तथा आर्थिक वृद्धिमा योगदान पुर्‍याउने गरी इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विगतमा भएका अध्ययन तथा सिफारिसलाई कार्यान्वयन गर्दै बजार सुधारका कार्यक्रमलाई निरन्तर अघि बढाउने पनि बताए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट