दहीको राजा जुजु धौको माग बढ्दो, परम्परागत रुपमा यसरी बनाइन्छ दही
दही–चिउरा खाने पर्वका रूपमा चिनिने असार १५ को अवसरमा भक्तपुरको प्रसिद्ध ‘जुजु धौ’ को उत्पादन अन्य दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। पर्वका कारण माग बढ्ने भएकाले सामान्य दिनको तुलनामा धेरै परिमाणमा दूध जमाएर जुजु धौ तयार गरिएको हो ।
जुजु धौ बनाउन ताजा दूधलाई आवश्यक तापक्रममा उमालेर चिस्याइन्छ । त्यसपछि दूधलाई प्लास्टिकका बट्टा तथा माटाका भाँडामा राखी आवश्यक मात्रामा निश्चित तापक्रममा जमाउन छाडिन्छ। करिब पाँचदेखि छ घण्टापछि दूध स्वादिष्ट जुजु धौमा परिणत हुने गर्छ ।
उत्पादकका अनुसार माटाका भाँडाले अतिरिक्त चिस्यान सोस्ने भएकाले जुजु धौको स्वाद, गाढापन र गुणस्तर अझ उत्कृष्ट हुन्छ । यही परम्परागत विधि र शुद्ध दूधको प्रयोगले भक्तपुरको जुजु धौलाई विशेष पहिचान दिलाएको छ ।
असार १५ मा दही–चिउरा खाने नेपाली परम्परासँगै जुजु धौको माग हरेक वर्ष उल्लेख्य रूपमा बढ्ने भएकाले बजारको आवश्यकता पूरा गर्न सैजु जुजु धौका कर्मचारीहरू बिहानैदेखि उत्पादनमा व्यस्त रहेका छन् । परम्परागत स्वाद र गुणस्तरका कारण भक्तपुरको जुजु धौ नेपालीहरूको रोजाइमा पर्ने गर्दछ ।
नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ ।
जुजु धौ व्यवसायी माग धान्न मुस्किल भएपनि यसको परम्परागत स्वाद, मौलिकता र गुणस्तर जोगाउन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको बताउँछन्।
तर काँठक्षेत्रमा गाई–भैँसीपालन व्यवसाय हराउँदै जानु र कुमालेले पनि माटोको कटारो बनाउन छाड्नु तथा बजारले पनि प्लाष्टिकका बट्टाको माग गर्नुले जुजु धौको मौलिकता सङ्कटमा पर्न थालेको छ। आधुनिक प्रविधिको नाममा दहीलाई ‘फ्रिज’मा राखेर जमाउने गर्नाले पनि यसको मौलिकतामा ह्रास आउन थालेको छ।
भक्तपुरको जुजु धौ दही मात्र होइन, भक्तपुरको पहिचान पनि बनिसकेको छ । जुजु धौ महिमा नेपालमा मात्र होइन, विदेशमा समेत परिचित छ। त्यसैले भक्तपुर घुम्न आउने स्वदेशी र विदेशी पर्यटक दहीको स्वाद नचाखी नजाने गरेका छन् ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया