Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

बाँझो जमिन राख्ने प्रवृत्ति अन्त्य गरी कृषिको आधुनिकीकरण गर्नुपर्छ : राष्ट्रपति पौडेल


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिको आधुनिकीकरण र व्यवसायी करणमार्फत मुलुकलाई धान उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने बताएका छन्।

२३औँ राष्ट्रिय धान दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आकर्षक र सम्मानजनक पेसाका रूपमा विकास गर्न सके विदेश पलायन भइरहेका जनशक्तिलाई स्वदेशमै रोक्न सकिने उल्लेख गरे।

उनले कृषि क्षेत्रको आधुनिकीकरणले धान तथा चामलको आयात घटाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। “श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्छ,” उनले भने, “जीवन निर्वाहका लागि मात्र होइन, अब व्यावसायिक कृषितर्फ अग्रसर हुन सबैलाई आग्रह गर्दछु।”

राष्ट्रपति पौडेलले असार महिना धान रोपाइँ र कृषि गतिविधिका हिसाबले विशेष महत्व बोकेको उल्लेख गर्दै नेपाली जीवनशैली प्रकृति र माटोसँग गहिरो रूपमा जोडिएको बताए। हिलोमा रमाउँदै धान रोप्ने परम्परा तथा दही, चिउरा र अचारजस्ता परिकारले राष्ट्रिय धान दिवसलाई सांस्कृतिक उत्सवका रूपमा स्थापित गरेको उनको भनाइ छ।जलवायु परिवर्तनका कारण धान उत्पादनमा देखिएको चुनौतीप्रति सचेत हुन आग्रह गर्दै उनले जलवायुमैत्री प्रविधिको प्रयोगमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्नु आजको प्रमुख आवश्यकता भएको बताए। यसका लागि सरकार, कृषक र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।

राष्ट्रपति पौडेलले नेपालको धानखेती अझै पनि वर्षामा निर्भर रहेको भन्दै सिँचाइ सुविधाको विस्तारमा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। वर्षा अनुकूल हुँदा उत्पादन बढ्ने र प्रतिकूल हुँदा घट्ने अवस्थाको अन्त्य गर्न आधुनिक सिँचाइ पूर्वाधार अपरिहार्य रहेको उनको भनाइ छ।संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै उनले कृषकलाई कृषि सामग्री, उत्पादनको उचित मूल्य र बजार पहुँच उपलब्ध गराउने दायित्व राज्यको भएको बताए। धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक महत्व विशेष रहेको पनि उनले उल्लेख गरे।

विसं २०६१ देखि प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदै आएको छ। यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदै छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट