नेपालमा वार्षिक २७ लाख १८ हजार मेट्रिक टन दूध उत्पादन
काठमाडौं । २६औँ विश्व दूध दिवसका अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले नेपालमा वार्षिक २७ लाख १८ हजार १७७ मेट्रिक टन दूध उत्पादन हुने जनाएको छ। बोर्डका अनुसार दुग्ध क्षेत्रले देशको कृषि तथा ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार कुल कृषि गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान करिब २५ प्रतिशत रहेको छ। दुग्ध व्यवसायमार्फत वार्षिक करिब २८ अर्ब रुपैयाँ सहरबाट गाउँतर्फ प्रवाह भइरहेको र ३ लाख ८० हजार परिवारले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन्।
विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा विभिन्न सरकारी तथा निजी निकायले साताव्यापी कार्यक्रम सञ्चालन गरेका छन्। यस क्रममा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, उपभोक्ता सचेतना अभियान, अन्तरक्रिया कार्यक्रम तथा सामाजिक गतिविधिहरू आयोजना गरिएका छन्।
बोर्डका अनुसार दूधलाई पोषणयुक्त र सन्तुलित आहारका रूपमा लिइन्छ। बाल कुपोषण, पुड्कोपन तथा कम तौलजस्ता समस्या न्यूनीकरण गर्न नियमित दूध सेवन र ‘स्कुल मिल्क कार्यक्रम’लाई प्रोत्साहन गरिँदै आएको छ।
नेपालमा हाल काभ्रेपलाञ्चोक, चितवन, विराटनगर, पोखरा, भक्तपुर, सुनसरी र हेटौंडासहित ९ स्थानमा पाउडर दूध उद्योग सञ्चालनमा छन्। ती उद्योगहरूले चालु वर्षमा करिब ५ करोड लिटर दूध प्रशोधन गरी ४ हजार १५० मेट्रिक टन धूलो दूध उत्पादन गरेका छन्।
पछिल्लो चार वर्षमा दुग्धजन्य पदार्थको व्यापार ७१ प्रतिशतले वृद्धि भएको तथ्यांकले यस क्षेत्रको औद्योगिक तथा निर्यात सम्भावना थप बलियो बन्दै गएको देखाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया