सुस्तामा तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध, स्थानीय तहको आपत्ति
नवलपरासी । सुस्तास्थित नारायणी नदी किनारमा निर्माणाधीन तटबन्धको काममा भारतीय पक्षले अवरोध गरेको भन्दै स्थानीय जनप्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको लगानीमा निर्माण भइरहेको तटबन्धको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा भारतीय सशस्त्र सीमा बल ९एसएसबी० का सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेर निर्माण कार्य रोक्न आग्रह गरेको स्थानीय स्रोतहरूले बताएका छन्।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार आइतबार भारतीय सुरक्षाकर्मीहरूको टोली निर्माणस्थलमा पुगेको थियो। त्यसक्रममा तटबन्ध निर्माणका विषयमा आपत्ति जनाउँदै काम रोक्न चेतावनी दिइएको उनले बताए।
स्थानीय जनप्रतिनिधि तथा सुस्ता क्षेत्रका सरोकारवालाहरूले उक्त क्षेत्र नेपालकै भूभागभित्र पर्ने दाबी गर्दै निर्माण कार्यमा अवरोध गरिनु उचित नभएको बताएका छन्। उनीहरूले सीमा क्षेत्रका यस्ता विषय कूटनीतिक संवाद र द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नुपर्ने धारणा राखेका छन्।
नारायणी नदीको कटानबाट प्रभावित सुस्ता क्षेत्रमा बर्सेनि भूक्षयको समस्या देखिँदै आएको छ। सोही जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माणको काम अघि बढाइएको सरकारी निकायहरूको भनाइ छ।
स्थानीय तथ्यांकअनुसार विगत केही दशकयता नदीको धार परिवर्तन, कटान तथा सीमासम्बन्धी विवादका कारण सुस्ता क्षेत्रको भूभाग प्रभावित हुँदै आएको छ। भारतीय पक्षले भने निर्माण भइरहेको क्षेत्रको अवस्थिति र सीमासम्बन्धी विषयमा आपत्ति जनाएको बताइएको छ।
यस घटनापछि सीमा क्षेत्रको सुरक्षा, भू–संरक्षण तथा द्विपक्षीय समन्वयका विषय पुनः चर्चामा आएका छन्। स्थानीयवासीले निर्माणाधीन तटबन्धको काम अवरोधविना अगाडि बढाउन सरकारसँग आवश्यक कूटनीतिक पहल गर्न माग गरेका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया