मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
काठमाडौं । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ।
सोमबारदेखि लागू भएको नियमअनुसार अब १६ वर्षमुनिका बालबालिकाले फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्।
नयाँ व्यवस्थाले सामाजिक सञ्जाल कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्ने जिम्मेवारी तोकेको छ। साथै, नियम विपरीत खोलिएका वा सञ्चालनमा रहेका खाताहरू पहिचान गरी बन्द गर्ने दायित्व पनि कम्पनीहरूकै हुनेछ।
सरकारले नियम उल्लंघन गर्ने कम्पनीहरूलाई १ करोड मलेसियन रिंगिटसम्म जरिवाना गर्न सकिने व्यवस्था गरेको छ।
मलेसिया सरकारले यो कदम बालबालिकालाई अनलाइन जोखिम, साइबर दुर्व्यवहार, मानसिक दबाब र अनियन्त्रित सामाजिक सञ्जाल प्रयोगबाट जोगाउन ल्याइएको जनाएको छ। पछिल्ला वर्षहरूमा डिजिटल माध्यमबाट बालबालिकामाथि जोखिम बढ्दै गएको भन्दै कडा नियमन आवश्यक भएको सरकारको भनाइ छ।
यद्यपि, बालबालिकाले नियम छल्दै खाता खोलेको अवस्थामा अभिभावकलाई कानुनी कारबाही नहुने स्पष्ट गरिएको छ। सरकारले मुख्य ध्यान सामाजिक सञ्जाल कम्पनीहरूलाई उत्तरदायी बनाउनेतर्फ केन्द्रित गरेको छ।
मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगका अनुसार यो नीति बालबालिकालाई इन्टरनेटबाट टाढा राख्न होइन, बरु उनीहरूका लागि सुरक्षित र उमेरअनुकूल डिजिटल वातावरण सुनिश्चित गर्न ल्याइएको हो।
यससँगै मलेसिया बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडाइ गर्ने देशहरूको सूचीमा थपिएको छ। यसअघि अष्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले यस्ता नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरियालगायत देशहरूले पनि यस्तै नीति अघि बढाइरहेका छन्।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया