Techie IT
KTM Post
सोमबार, १८ जेठ, २०८३

इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा क्षति


युद्ध शुरू भएयता इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ ।

गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि शुरू भएको युद्धमा अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा स्वीकार गरेकोभन्दा धेरै सैन्य स्थलमा क्षति पुगेको उपग्रह तस्वीर र भिडियोहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इरानले फेब्रुअरीको अन्त्यदेखि मध्यपूर्वका ८ वटा देशका प्रमुख सुविधाहरूलाई लक्षित गरेर आक्रमण गरेको छ । इरानी आक्रमणका कारण अत्याधुनिक वायु रक्षा प्रणाली, इन्धन भर्ने विमान र राडारहरूमा लाखौँ डलरको क्षति पुगेको खबरमा उल्लेख छ ।

इरानले विगत तीन महिनामा आफ्नो भूमि र लेबनानमा अमेरिका–इजरायली आक्रमणको बदला लिने उद्देश्यले अमेरिकी सैन्य अड्डा र दुई देशका साझा सैन्य सुविधा दुवैलाई निशाना बनाएको छ ।

यस्तै अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले ‘अपरेशन एपिक फ्युरी’ शुरू भएदेखि इरानमा १३ हजारभन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको बताएको छ ।

यसैबीच इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकी सैन्य संरचनामाथिको आक्रमणलाई आफ्नो सेनाको उपलब्धिका रूपमा व्याख्या गरेका छन् । उनकाअनुसार अब मध्यपूर्व अमेरिकी सैन्य अड्डाहरूका लागि सुरक्षित ठाउँ होइन ।

अमेरिकी प्रशासनले भने इरानको सैन्य क्षमता झन्डै ध्वस्त पारेको दाबी गर्दै आएको छ ।

बीबीसीको विश्लेषणअनुसार इरानी आक्रमणबाट साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, इराक, जोर्डन, बहराइन र ओमानमा रहेका अमेरिकी सैन्य अड्डा प्रभावित भएका छन् । यद्दपि केही विश्लेषकहरूका अनुसार प्रभावित अड्डाको सङ्ख्या २८ सम्म पुग्न सक्छ ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट