Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

भुक्तानी सेवा प्रदायकमा राष्ट्र बैंकको कडाइ : स्वामित्व र व्यवस्थापनमाथि कडा निगरानी


काठमाडौं । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरूका लागि जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा थप गरेको छ। राष्ट्र बैंकले भुक्तानी तथा फस्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गर्दै जेठ १८ गते एक परिपत्र जारी गरी उक्त संशोधनका बारेमा जानकारी दिएको हो।

नयाँ व्यवस्था अनुसार भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाको सञ्चालन, व्यवस्थापन वा काम कारवाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व हुने, नियन्त्रण गर्ने वा सहभागी हुने वास्तविक धनी वा हिताधिकारीका वित्तीय गैरकानूनी आर्जन वा आपराधिक संलग्नता रोक्न विशेष व्यवस्था गरिएको छ। अबदेखि चुक्ता पुँजीको पाँच प्रतिशत वा पचास लाख रुपैयाँभन्दा बढीको शेयर वा पुँजी लगानी वा खरिद गर्दा, सूचक संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पद वा तहमा नियुक्ति वा मनोनयन गर्दा, तथा पाँच प्रतिशत वा पच्चिस लाख रुपैयाँभन्दा बढीको शेयर वा पुँजीमा वास्तविक धनी वा हिताधिकारी रहँदा तोकिएका विवरणहरू विभागमा बुझाउनुपर्नेछ।

यसका लागि सम्बन्धित व्यक्ति वा संस्थाले प्रचलित कानून बमोजिमको मापदण्ड पालनाको स्वघोषणा, पारिवारिक र हिताधिकारीको विवरण, नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए/नभएको घोषणा तथा मुद्दा मामिला वा अनुसन्धानमा रहेको भए सोको लिखित जानकारी पेश गर्नुपर्नेछ।

साथै, राजस्व वा सरकारी बाँकी बक्यौता रहे/नरहेको विवरण, कर्जा सम्बन्धी कालोसूचीको अवस्था, स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था र नेपाली नागरिक भए नेपाल बाहिर सम्पत्ति वा हिताधिकारी रहे/नरहेको घोषणा समेत गर्नुपर्ने व्यवस्था गरिएको छ। यसका अतिरिक्त सम्बन्धित व्यक्तिको विगतको कार्य अनुभव, प्राप्त जिम्मेदारी, पुरस्कार वा सजायको अवस्था तथा वित्तीय आचरण सम्बन्धी विवरण अनिवार्य रूपमा खुलाउनुपर्नेछ। यो मापदण्ड प्रारम्भ हुँदाका बखत कायम रहेका व्यक्तिहरूको हकमा समेत यी विवरणहरू लिएर विभागमा पेश गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

  • सम्बन्धित व्यवसायसम्बन्धी प्रचलित कानुनबमोजिम मापदण्ड पालनाको स्वघोषणा।
  • सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, पारिवारिक विवरण, वास्तविक धनी तथा हिताधिकारीको विवरण।
  • नेपाल वा विदेशमा कुनै कसुरमा संलग्न भए वा नभएको घोषणा र भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था।
  • कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाही प्रक्रियामा रहेको लिखित रुपमा जानकारी भएको भए सोको विवरण।
  • अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेशबमोजिम तिर्नु, बुझाउनुपर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको विवरण।
  • नेपाल वा विदेशमा कर्जासम्बन्धी कालोसूचीमा परे वा नपरेको विवरण।
  • नेपाल र विदेशमा स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण।
  • सम्बन्धित व्यक्ति नेपाली नागरिक भए निजको नेपालबाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको घोषणा।
  • विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेवारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरणलगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्यानुभवसम्बन्धी विवरण।

माथिको विवरण देहायको अवस्थामा पेस गर्नुपर्नेछ

  • चुक्तापुँजीको ५ प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढीको शेयर वा पुँजी लगानी वा खरिद गर्दा।
  • सूचक संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पद वा तहमा नियुक्ति वा मनोनयन गर्दा।
  • ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढीको शेयर वा पुँजीमा वास्तविक धनी वा हिताधिकारी रहँदा।

संशोधित निर्देशनमार्फत तोकिएको मापदण्ड प्रारम्भ हुँदाका बखत कायम रहेको व्यक्तिको हकमा उल्लेखित विवरण विभागमा पेस गर्नुपर्नेछ।

 

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट