विदेशबाट फर्कने नेपालीलाई सरकारको राहतस् मोबाइल, टेलिभिजनलगायत वस्तुमा पूर्ण भन्सार छुट
काठमाडौं । सरकारले विदेशबाट नेपाल फर्कने नेपाली नागरिकका लागि विभिन्न वस्तुमा भन्सार महसुल पूर्ण छुट दिने व्यवस्था गरेको छ। विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै ल्याइएको व्यवस्थाअनुसार निश्चित सर्त पूरा गरेका यात्रुले केही वस्तु बिना भन्सार नेपाल ल्याउन पाउनेछन्।
व्यवस्था अनुसार, विदेशमा कम्तीमा ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले व्यक्तिगत प्रयोगका लागि ल्याउने एक थान ट्याब्लेट, ल्यापटप, डेस्कटप कम्प्युटर, घडी, क्यामेरा लगायतका सामग्री बाहेक थप एक थान नयाँ मोबाइल फोन पनि भन्सार महसुलबिना ल्याउन सक्नेछन्।
त्यस्तै, वैदेशिक रोजगारीमा कम्तीमा १२ महिना काम गरेर फर्किएका नेपाली नागरिकले एक पटकका लागि ६५ इन्चसम्मको टेलिभिजनमा पूर्ण भन्सार छुट पाउने व्यवस्था गरिएको छ।
सरकारले उपचारका लागि विदेश गएका बिरामीले साथमा ल्याउने औषधिमा पनि भन्सार महसुल नलाग्ने जनाएको छ। साथै, शारीरिक रूपमा अशक्त व्यक्तिले सहाराका रूपमा प्रयोग गर्ने सामग्रीमा समेत पूर्ण छुटको व्यवस्था गरिएको छ।
यसैगरी, यात्रुले साथमा ल्याउने सात किलोग्रामसम्मका खाद्य परिकारमा पनि भन्सार महसुल लाग्ने छैन।
तोकिएको परिमाणभन्दा बढी वस्तु ल्याएको अवस्थामा भने यात्रुको पारिवारिक अवस्था, परिवार सदस्य संख्या, बसेको देश र विदेशमा बिताएको अवधि लगायतका आधारमा सम्बन्धित भन्सार कार्यालय प्रमुखले आवश्यकता अनुसार थप छुट दिन सक्ने व्यवस्था गरिएको छ।
सरकारको यो व्यवस्थाले विदेशमा रहेका तथा वैदेशिक रोजगारीबाट फर्किने नेपाली नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया