Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

महानगर यातायातले थप्यो १६ नयाँ विद्युतीय बस, चक्रपथ सेवामा विस्तार


काठमाडौं । महानगर यातायात प्रा.लि.ले काठमाडौं उपत्यकामा आफ्नो विद्युतीय बस सेवा विस्तार गर्दै थप १६ वटा नयाँ बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि ती बसहरू काठमाडौंको चक्रपथ मार्गमा सञ्चालनमा आएका हुन्।

नयाँ विद्युतीय बसहरू ३३ सिट क्षमताका भए पनि उभिएर यात्रा गर्ने यात्रुहरूलाई समेत सहज हुने गरी डिजाइन गरिएको छ। एकै पटक करिब ७० यात्रुले यात्रा गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ।

शशिला मोटर्स प्रा.लि.मार्फत चीनबाट आयात गरिएका यी बसहरूमा १४४ किलोवाट क्षमताको CATL ब्याट्री जडान गरिएको छ। पूर्ण चार्जमा करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने यी बसहरूको मूल्य प्रतिगोटा १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको बताइएको छ।

कम्पनीका अनुसार आधुनिक सुविधा, आरामदायी सिट र यात्रु सुरक्षालाई ध्यानमा राखेर बसहरू तयार गरिएको हो। बिक्रीपछिको सेवा पनि गुणस्तरीय र प्रभावकारी रहेको शशिला मोटर्सले जनाएको छ।

यसअघि महानगर यातायातले गत वर्ष असारमा चक्रपथ क्षेत्रमा १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याइसकेको थियो। ती बसहरूको सफल सञ्चालनपछि थप बसहरू थपिएको कम्पनीले जनाएको छ।

नयाँ बसहरूको शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले विद्युतीय सवारी साधन अब अपरिहार्य बन्दै गएको उल्लेख गर्दै सेवा विस्तारलाई निरन्तर अघि बढाइने बताए।

कम्पनीले विद्युतीय बसहरू सञ्चालन खर्च कम हुने र प्राविधिक रूपमा सहज भएकाले डिजेल बसको तुलनामा झण्डै चार गुणा बढी आम्दानी भइरहेको पनि दाबी गरेको छ।

यसअघि नै महानगर यातायातले चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म पनि बस सेवा सञ्चालन गर्दै आएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट