काठमाडौँ महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशी एसएसपीमा बढुवा
काठमाडौं । काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका छन् । महानगर कार्यपालिकाको निर्णयअनुसार नगर प्रहरीको कमान्ड सम्हाल्दै आएका जोशीलाई एसपीबाट बढुवा गरेर पूर्ण जिम्मेवारी दिइएको हो ।
महानगर कार्यपालिकाले गत जेठ ३ गते नै जोशीलाई एसएसपी पदमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज दर्ज्यानी चिन्ह पाएका हुन् ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको उपस्थितिमा उनलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
विष्णुप्रसाद जोशीको महानगर प्रहरीमा तीन दशकभन्दा लामो व्यावसायिक यात्रा रहेको छ । उनले वि.सं. २०५० साल भदौ १४ गते नगर प्रहरी सई (नायव निरीक्षक) पदबाट सेवा सुरु गरेका थिए । उनले वि.सं.२०६३ सालमा नगर प्रहरी निरीक्षक इन्स्पेक्टर पदमा बढुवा गएका हुन् । २०७० सालमा नगर प्रहरी नायव उपरीक्षक (डीएसपी) को जिम्मेवारी पाएका थिए ।
यस अघि २०७३ सालमा नगर प्रहरी उपरीक्षक (एसपी) पदमा पुगेका थिए । काठमाडौँ महानगरपालिकाका तत्कालीन नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन लडेपछि एसपी जोशीलाई निमित्तको जिम्मेवारी दिएको थियो ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया