१३ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ७० करोड
काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक १३.४६ अंक घटेर २७६६.७८ विन्दुमा झरेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५३ स्टकको ५१ हजार ६०१ पटकको कारोबारमा ४ अर्ब ७० करोड ३३ लाख २६ हजार रुपैयाँबराबरको १ करोड ६ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.७१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन निर्जीवन बीमा र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एभरेष्ट बैंकको अपरिवर्तिय ऋणपत्र शीर्ष स्थानमा रहेको छ। यस दिन सो बैंकको ३४ करोड १ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन आँखा खोला जलविद्युत कम्पनी ३२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सेन्ट्रल फाइनान्सको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।
कालिञ्चोक हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८५ रुपैयाँ ९० पैसा बढर ६५८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन न्यादी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
क्याटेगोरी : अर्थ












प्रतिक्रिया