Techie IT
KTM Post
शनिबार, २३ जेठ, २०८३

सन् २०३३ सम्म नेपालको अर्थतन्त्र १०० अर्ब डलर पुग्न सक्ने : सिएनआई


काठमाडौं । नेपाल उद्योग परिसङ्घ सिएनआईले आगामी एक दशकभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्‍याउन सकिने दाबी गरेको छ। परिसङ्घले गरेको विस्तृत अध्ययनले सन् २०३३ सम्म प्रचलित मूल्यमा र सन् २०३९ सम्म वास्तविक मूल्यमा उक्त लक्ष्य हासिल गर्न सकिने देखाएको हो।
सिएनआईको २३औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष वीरेन्द्रराज पाण्डेले लगानी बोर्डसँगको सहकार्यमा गरिएको अध्ययनले नेपालको आर्थिक सम्भावना उजागर गरेको बताए। उनका अनुसार २० भन्दा बढी विज्ञले करिब आठ महिनासम्म गरेको अध्ययनले दीर्घकालीन रूपमा वार्षिक औसत ६ प्रतिशत आर्थिक वृद्धि कायम राख्न सके १०० अर्ब डलर अर्थतन्त्रको लक्ष्य प्राप्त गर्न सकिने निष्कर्ष निकालेको छ।
उनले सरकारले सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको भए पनि अध्ययनले स्थिर र दिगो रूपमा ६ प्रतिशत वृद्धि हासिल गर्न सके लक्ष्य सम्भव रहेको देखाएको बताए।
पाण्डेका अनुसार लक्ष्य प्राप्तिका लागि ऊर्जा, उत्पादन, पर्यटन, सूचना प्रविधि, कृषि, पूर्वाधार तथा संस्थागत सुधारसँग सम्बन्धित १०० वटा सम्भावित सुधार तथा नीतिगत उपायहरू प्रस्ताव गरिएको छ। अध्ययनमा ऊर्जा, पूर्वाधार, पर्यटन, उत्पादनमूलक उद्योग, कृषि, सूचना प्रविधि, खानी तथा खनिज, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको थियो।
सन् २०२५ लाई आधार वर्ष मानेर गरिएको अध्ययनमा सन् २०३० सम्म विभिन्न सुधारका सम्भावित प्रभावहरूको विश्लेषण गरिएको छ। निजी क्षेत्रको लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधिको वृद्धिलाई अध्ययनको मुख्य केन्द्रमा राखिएको अध्यक्ष पाण्डेले बताए।
उनले लक्ष्य हासिल गर्न सरकारबाट लगानीमैत्री वातावरण निर्माण, नीतिगत स्थायित्व तथा विकास साझेदारबाट वित्तीय, प्राविधिक र ज्ञानमा आधारित सहयोग आवश्यक पर्ने उल्लेख गरे।
गरिबी न्यूनीकरण, विद्युत् पहुँचको विस्तार, जलविद्युत्को उच्च सम्भावना, युवा जनशक्ति, उद्यमशीलता, पर्यटन क्षेत्रको क्षमता, नेपालको रणनीतिक भौगोलिक अवस्थिति तथा बढ्दो डिजिटल पहुँचले मुलुकलाई तीव्र आर्थिक वृद्धितर्फ अघि बढाउन महत्वपूर्ण आधार प्रदान गर्ने पाण्डेको भनाइ छ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट