कर्मचारीतन्त्रकै कारण विकासले गति लिन सकेन : मुख्यमन्त्री बानियाँ
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विकास निर्माण र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बन्न नसक्नुमा कर्मचारीतन्त्रको कार्यशैली प्रमुख चुनौतीका रूपमा रहेको बताएका छन्।
नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशद्वारा आयोजित मिडिया सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विभिन्न प्रशासनिक प्रक्रिया र ढिलासुस्तीका कारण जनताले अपेक्षा गरेअनुसारको परिणाम दिन कठिन भइरहेको बताए।
उनले प्रधानमन्त्रीबाट सरकारी ठेक्का टेण्डर बाहेकका सूचना तथा कार्यक्रमसम्बन्धी विवरण सार्वजनिक गर्न स्पष्ट निर्देशन दिइए पनि सम्बन्धित निकायले त्यसको पूर्ण कार्यान्वयन नगरेको गुनासो गरे। “प्रधानमन्त्रीले हाम्रो उपस्थितिमै सूचना प्रवाहलाई व्यवस्थित बनाउन निर्देशन दिनुभएको थियो, तर कर्मचारी संयन्त्रबाट त्यसको अपेक्षित कार्यान्वयन हुन सकेको छैन,” उनले भने।
मुख्यमन्त्री बानियाँले प्रेस तथा सञ्चार क्षेत्रलाई लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भको रूपमा उल्लेख गर्दै पत्रकारहरूलाई प्रदेश सरकारले उपलब्ध गराउँदै आएको सुविधा कटौती नहुने स्पष्ट पारे। उनले आगामी दिनमा सञ्चारकर्मीको क्षमता अभिवृद्धि र पेशागत सुदृढीकरणका लागि थप कार्यक्रम ल्याइने संकेत समेत गरे।
कार्यक्रममा वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले लोकतन्त्रको रक्षा, सुशासन प्रवर्द्धन र जनतासम्म सही सूचना प्रवाहमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।
पत्रकारहरूले सामना गरिरहेका समस्या समाधानमा प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले सञ्चारकर्मीलाई असहज हुने कुनै नीति वा निर्णय नल्याइने प्रतिबद्धता व्यक्त गरे।
सम्मेलनमा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा, सञ्चारमाध्यमको दिगोपना तथा बदलिँदो सञ्चार परिवेशका चुनौतीबारे आफ्ना धारणा राखेका थिए।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया