Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा लिङ्देनले दिए यस्ता सुझाव


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको प्रारम्भिक लक्षण ठिक नदेखिएको भन्दै परिपक्व व्यवहार देखाउन रास्वपालाई सुझाव दिएका छन् ।

सभापति रवि लामिछानेले राखेको सर्वदलीय बैठकबाट निस्किँदै लिङदेनले संसदमा प्रतिपक्षी गणितमा कमजोर छ भन्दैमा शक्ति पृथकीकरणको सन्तुलन र नियन्त्रणलाई भत्काउने काम गरिरहेको भन्दै देश जित्नेको मात्र नभई हार्नेको पनि भएको बताए ।

प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा र सभापति लामिछानेले भारत भ्रमणको क्रममा आफूले विगतको भारी नबोक्ने भनि दिएको अभिव्यक्ति अपरिपक्व र नेपालले संसदबाट सर्वसम्मतीले पारित लिपुलेक, लिम्पियारधुरा र कालापानी नेपालको हो भनि गरेको प्रमाणलाई समेत कमजोर बनाउने खालको भएको जिकिर गर्दै त्यस्ता विषयम गम्भीर बन्न आग्रह गरेको जानकारी दिए ।

उनले सरकारको गलत क्रियाकलापको भारी सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुनाले पनि सरकारले वैदेशिक मामिलाको सवालमा सम्वेदनशीलता उपनाउन आवश्यक रहेको तर्क गरे ।

उनले भने- यो सरकारले गर्ने गलत क्रियाकलापको सिकार सम्पूर्ण देश हुन्छ । परिपक्व व्यवहार गरियोस् । चाहे प्रधानमन्त्रीको सीमासम्बन्धी मन्तव्य होस् । चाहे रास्वपाका सभापति भारतमा गएर हामी विगतको भारी बोक्दैनौँ भनेको सवाल होस् । होसियारी अपनाइयोस् ।

विगतको भारी बोक्दैनौँ भनेको विगतमा सबै नराम्रो भएका थिए भन्न खोजेको हो ? भन्दै लिङदेनले थपे- लिम्पियाधुरा कालापानी हाम्रो हो भनेर ऐतिहासिक तथ्य प्रमाणको आधारमा हामीले सर्वसम्मतले संसदबाट पारित गरेर संविधानको अनुसूचीमा राखेको विषय पनि बोक्दिनँ भन्न खोजेको अर्थ लाग्न सक्छ ।

चुनावपछि पहिलो पटक सत्तारुढ दलको आव्हानमा दलहरूबीच भएको यो छलफल राम्रो सुरूवात भन्दै उनले यसको निरन्तरताको कामना गरे ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट