रास्वपा लमजुङ अधिवेशनमा धाँधली भएको आरोप, केन्द्रीय निर्वाचन आयोगमा उजुरी
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङ जिल्ला अधिवेशनमा सभापति पदको निर्वाचन प्रक्रिया विवादमा परेको छ। निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै सभापतिका तीन उम्मेदवारले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दर्ता गरेका छन्।
उम्मेदवारहरूले जिल्ला सभापति चयन प्रक्रिया पार्टीको विधान र निर्वाचन कार्यविधिविपरीत सञ्चालन गरिएको दाबी गरेका छन्। जेठ २४ गते सम्पन्न अधिवेशनअन्तर्गत सभापति पदका लागि पाँच जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए।
पार्टी विधान २०७९ (तेस्रो संशोधन) को धारा ३३(१) तथा निर्वाचन कार्यविधि २०८० को बुँदा १६(क) अनुसार सभापतिमा निर्वाचित हुन कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। कुनै उम्मेदवारले आवश्यक बहुमत प्राप्त नगरेमा सर्वाधिक मत ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान गरिनुपर्ने प्रावधान रहेको छ।
उजुरीकर्ताहरूका अनुसार कुल १ सय ३४ सदर मतमध्ये ६९ मत प्राप्त गरेका अशोक सापकोटालाई जिल्ला निर्वाचन समितिले विजयी घोषणा गरेको थियो। निर्वाचन परिणाम सार्वजनिक भएपछि दोस्रो चरणको मतदान जेठ २५ गते बिहान ११ बजे गर्ने सूचना समेत जारी गरिएको भए पनि त्यसलाई कार्यान्वयन नगरी सापकोटालाई विजयी घोषणा गरिएको आरोप लगाइएको छ।
उनीहरूले अधिकांश प्रतिनिधि घर फर्किसकेको अवस्थामा अन्य उम्मेदवारको सहमति बेगर विजयी घोषणा तथा शपथग्रहण कार्यक्रम सम्पन्न गरिएको दाबी गरेका छन्।
‘विधि, प्रक्रिया र सुशासनलाई प्राथमिकता दिने पार्टीमा यस्तो कार्यशैलीले संगठनको विश्वसनीयता र गरिमामाथि प्रश्न उठाएको छ,’ उजुरीमा उल्लेख गरिएको छ।
उजुरीकर्ताहरूले सभापति पदमा गरिएको विजय घोषणा तथा पदबहाली प्रक्रिया तत्काल खारेज गरी पार्टी विधानअनुसार पुनः निर्वाचन गराउन माग गरेका छन्।
सभापति पदका उम्मेदवार हरिबहादुर धिताल, विजय रञ्जन पौडेल र नवराज पहाडीले संयुक्त रूपमा केन्द्रीय निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया