Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

८ कम्पनी कर परीक्षणको घेरामा, कागजात नबुझाए एकतर्फी निर्धारण हुने


काठमाडौं । आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर र तुलसीपुरले आर्थिक वर्ष २०७८/७९ को कारोबार परीक्षणका लागि आठ कम्पनीलाई छनोट गर्दै आवश्यक कागजात पेस गर्न निर्देशन दिएका छन्। तोकिएको समयभित्र विवरण उपलब्ध नगराए एकतर्फी रूपमा कर निर्धारण गरिने चेतावनीसमेत कार्यालयहरूले दिएका छन्।

आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले आमिनुल इन्टरप्राइजेज, एन.जी.एस ट्रेडर्स र लिलामी बजार प्रालिलाई कर परीक्षणका लागि छनोट गरेको जनाएको छ। कार्यालयका अनुसार सम्बन्धित करदातासँग पटक–पटक सम्पर्क प्रयास गरिए पनि सम्पर्क हुन नसकेको तथा केहीले सूचना बुझेर पनि आवश्यक कागजात पेस नगरेका छन्।

आयकर ऐन, २०५८ र मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी कानुनी व्यवस्थाअनुसार कार्यालयले सूचना जारी गर्दै १५ दिनभित्र कारोबारसम्बन्धी सम्पूर्ण कागजात बुझाउन अन्तिम अवसर दिएको छ।

कार्यालयले तोकिएको अवधिभित्र कागजात पेस नगरे उपलब्ध तथ्य तथा सूचनाका आधारमा एकतर्फी कर निर्धारण गरिने स्पष्ट पारेको छ। साथै कर परीक्षण प्रक्रियामा ढिलाइ वा असहयोग स्वीकार नगर्ने संकेत पनि दिएको छ।

यस्तै, आन्तरिक राजस्व कार्यालय तुलसीपुरले पनि आर्थिक वर्ष २०७८/७९ कै कारोबार परीक्षणका लागि छनोट भएका पाँच कम्पनीलाई आवश्यक कागजात पेस गर्न निर्देशन दिएको छ। परीक्षणको दायरामा माइलस्टोन बिल्डर्स, देवकोटा सप्लायर्स, गुराँस इन्टरप्राइजेज, शान्दार निर्माण सेवा र सौरभ इन्टरप्राइजेज रहेका छन्।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट