संसदीय समितिमा अर्थमन्त्रीको बचाउमा उत्रिए गणेश पराजुली र खगेन्द्र सुनार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि उठिरहेका आरोपका विषयमा उनको बचाउ गरेका छन्। करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रश्न उठाइरहेका बेला रास्वपाका सांसदहरू अर्थमन्त्रीको पक्षमा उभिएका हुन्।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा पनि उक्त विषयले प्रवेश पाएको थियो। बैठकमा विपक्षी दलका सांसदहरूले आर्थिक विधेयकमा भएको करका दर हेरफेर र त्यससँग सम्बन्धित सूचनाको चुहावटबारे प्रश्न उठाउँदै अर्थमन्त्रीको भूमिकामाथि स्पष्टीकरण माग गरेका थिए।
बैठकमा नेकपाका नेता वर्षमान पुनले करका दरसम्बन्धी विवादबारे प्रश्न उठाउँदा अर्थमन्त्री वाग्लेले प्रयोग गरेको भाषा सांसदप्रति धम्कीपूर्ण र असहज देखिएको भन्दै समितिको ध्यानाकर्षण गराए। यस्तै, नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले पनि अर्थमन्त्रीले आलोचनाप्रति अत्यधिक आक्रोशित प्रतिक्रिया दिएको आरोप लगाए।
विपक्षी दलका सांसदहरूको आलोचनापछि रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुली र सांसद खगेन्द्र सुनार अर्थमन्त्रीको बचाउमा उत्रिएका थिए।
पराजुलीले बजेट निर्माण र आर्थिक व्यवस्थापनका क्रममा अर्थमन्त्रीले सामना गर्नुपर्ने चुनौतीहरूलाई पनि ध्यान दिनुपर्ने धारणा राखे। उनले आरोप–प्रत्यारोपभन्दा माथि उठेर जिम्मेवार ढंगले विषयलाई हेर्नुपर्ने आवश्यकता औंल्याए।
यस्तै, सांसद सुनारले अर्थमन्त्रीले यस विषयमा आफ्नो धारणा र स्पष्टीकरण सार्वजनिक गरिसकेको उल्लेख गर्दै एउटै विषयलाई बारम्बार उठाउनु उपयुक्त नहुने बताए। उनले विगतमा पनि करका दरसम्बन्धी त्रुटि वा विवादहरू प्रक्रियामार्फत सच्याइँदै आएको उल्लेख गर्दै हालको विषयलाई पनि त्यही सन्दर्भमा हेर्नुपर्ने धारणा व्यक्त गरे।
उनले कुनै एक व्यक्तिलाई लक्षित गरेर निरन्तर आलोचना केन्द्रित गर्नु उचित नहुने भन्दै विपक्षी दलका सांसदहरूको भूमिकामाथि समेत प्रश्न उठाए।
करका दर हेरफेर र सूचना चुहावटको विषयमा संसद् र संसदीय समितिहरूमा बहस जारी रहेकाले आगामी दिनमा यसबारे थप राजनीतिक तथा संसदीय छलफल हुने देखिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया