कैलालीमा वन कर्मचारीको मनपर्दी: एक्ली महिलाको टेम्पो भिरबाट खसालिदिए…
कैलालीको गोदावरी नगरपालिका–४ बासपानीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा एक महिलाको टेम्पो क्षतिग्रस्त भएको घटनाले स्थानीय स्तरमा विवाद सिर्जना गरेको छ। घटनापछि पीडित पक्षले क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग गरेका छन्।
स्थानीय धनादेवी धामीले सडकछेउमा टेम्पो राखेर सानो व्यापार गर्दै परिवारको जीविकोपार्जन गर्दै आएकी थिइन्। डिभिजन वन कार्यालय, धनगढीले सञ्चालन गरेको अतिक्रमण हटाउने अभियानका क्रममा उनको व्यापारिक प्रयोजनमा प्रयोग हुँदै आएको टेम्पोमा क्षति पुगेको बताइएको छ।
पीडित धामीका अनुसार वन कार्यालयका कर्मचारीहरूले अतिक्रमण हटाउने क्रममा टेम्पोमा रहेका सामान हटाउनुका साथै टेम्पोलाई भिरतर्फ धकेलेका कारण पूर्ण रूपमा क्षति पुगेको हो। घटनापछि आफ्नो परिवारको मुख्य आयस्रोत नै गुमेको भन्दै उनले न्याय र क्षतिपूर्तिको माग गरेकी छन्।
स्थानीय बासिन्दाहरूले वन क्षेत्र संरक्षण आवश्यक भए पनि अतिक्रमण हटाउने क्रममा अपनाइएको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनीहरूले कानुनी प्रक्रिया अवलम्बन गरेर संरचना हटाउनुपर्नेमा व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याइएको आरोप लगाएका छन्।
यता डिभिजन वन कार्यालय, धनगढीले भने वन क्षेत्र संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियान कानुनअनुसार सञ्चालन गरिएको जनाएको छ। कार्यालयका अनुसार हालसम्म अभियान अन्तर्गत ४७ वटा साना तथा ठूला संरचना हटाइसकिएको छ। पटक–पटक सूचना तथा चेतावनी दिँदा पनि अतिक्रमण नहटाइएकाले बाध्य भएर कारबाही गरिएको कार्यालयको भनाइ छ।
तर, टेम्पोमा पुगेको क्षति तथा पीडित महिलामाथि परेको प्रभावबारे कार्यालयले औपचारिक धारणा सार्वजनिक गरेको छैन। घटनापछि स्थानीयवासी, नागरिक अगुवा तथा सरोकारवालाहरूले वस्तुगत छानबिन गरी वास्तविकता सार्वजनिक गर्न तथा पीडितलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
घटनाले वन संरक्षण अभियानको आवश्यकता र कानुन कार्यान्वयनका क्रममा मानवीय संवेदनशीलताको सन्तुलनबारे बहस सुरु गराएको छ। पीडित पक्ष भने आफूलाई भएको क्षतिको न्यायोचित सम्बोधनका लागि सम्बन्धित निकायको ढोका ढकढक्याइरहेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया