नेयमार बिना उत्रिएको ब्राजिललाई मोरक्कोको कडा धक्का, विश्वकपको पहिलो खेलमै बराबरी
काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा मोरक्कोसँग १–१ गोलको बराबरी खेलेको छ। समूह ‘सी’ अन्तर्गत न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका हुन्।
छैटौँ विश्वकप उपाधिको लक्ष्यसहित प्रतियोगितामा सहभागी भएको ब्राजिलका लागि यो नतिजा अपेक्षाअनुसार हुन सकेन। यद्यपि, टोलीले विश्वकपको पहिलो खेलमा अपराजित रहने आफ्नो लामो इतिहासलाई भने कायम राख्न सफल भएको छ।
ब्राजिलले सन् १९३४ मा स्पेनसँग पराजित भएपछि विश्वकपको उद्घाटन खेलमा हार व्यहोरेको छैन। मोरक्कोसँगको बराबरीसँगै ब्राजिलको पहिलो खेलमा अपराजित यात्राको श्रृंखला २१ खेल पुगेको छ, जसमा १७ जित र चार बराबरी समावेश छन्।
खेलमा मोरक्कोले २१औँ मिनेटमा अग्रता लिएको थियो। ब्राहिम डियाजको आकर्षक पासमा इस्माइल साइबारीले गोल गर्दै अफ्रिकी टोलीलाई सुरुआती बढत दिलाएका थिए।
तर ब्राजिलले ३२औँ मिनेटमा खेलमा पुनरागमन गर्यो। ब्रुनो गुइमारेसको पासमा विनिसियस जुनियरले उत्कृष्ट व्यक्तिगत कौशल प्रदर्शन गर्दै गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो।
पहिलो हाफ रोमाञ्चक बने पनि दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन्। ब्राजिलका लुकास पाक्वेटा, राफिन्हा र डानिलोले गोलका अवसर सिर्जना गरे पनि मोरक्कोका गोलरक्षक यासिन बोनो उत्कृष्ट लयमा देखिए। उनले महत्वपूर्ण बचाउ गर्दै टोलीलाई हारबाट जोगाए।
अर्कोतर्फ खेलको अन्त्यतिर मोरक्कोले पनि निर्णायक गोल गर्ने अवसर पाएको थियो। तर ब्राजिलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै टोलीलाई थप क्षतिबाट जोगाए।
ब्राजिलका नयाँ मुख्य प्रशिक्षक कार्लो अन्सेलोटीका लागि यो विश्वकपमा पहिलो प्रतिस्पर्धात्मक खेल थियो। घाइते नेयमारको अनुपस्थितिमा मैदान उत्रिएको ब्राजिललाई समर्थन गर्न पूर्व स्टार खेलाडी रोनाल्डो, रोबर्टो कार्लोस र काका पनि रंगशालामा उपस्थित थिए।
यस नतिजासँगै समूह ‘सी’ मा ब्राजिल र मोरक्कोले समान एक–एक अंक जोडेका छन्। अब ब्राजिलले आफ्नो दोस्रो खेलमा हाइटीसँग प्रतिस्पर्धा गर्नेछ भने मोरक्कोले स्कटल्यान्डको सामना गर्नेछ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया