Techie IT
KTM Post
आईतबार, ३१ जेठ, २०८३

हाइटीलाई पराजित गर्दै स्कटल्यान्डको ऐतिहासिक सुरुवात, ३६ वर्षपछि पहिलो जित


काठमाडौं । फिफा विश्वकप २०२६ को समूह सी को आफ्नो पहिलो खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को सङ्घर्षपूर्ण जित निकालेको छ। अमेरिकाको बोस्टन रङ्गशालामा भएको खेलमा जित निकालेसँगै स्कटल्यान्ड समूह सी को शीर्ष स्थानमा उक्लिएको छ।

खेलको २७ औँ मिनेटमा स्कटल्यान्डका मिडफिल्डर जन म्याकगिनले डि–बक्स भित्रबाट प्रहार गरेको बल हैटीका डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो। चे एडम्सको उत्कृष्ट पासमा बनेको उक्त अवसर नै खेलको निर्णायक गोल साबित भयो।

विश्वकप इतिहासमा स्कटल्यान्डको यो ३६ वर्षपछिको पहिलो जित हो। यसअघि स्कटल्यान्डले सन् १९९० को विश्वकपमा स्वीडेनलाई २–१ ले पराजित गरेयता विश्वकपमा कुनै पनि खेल जित्न सकेको थिएन। साथै, सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको स्कटल्यान्डका लागि यो निकै भावनात्मक र महत्त्वपूर्ण जित हो।

खेलको दोस्रो हाफमा हाइटीले उत्कृष्ट पुनरागमनको प्रयास गर्दै स्कटल्यान्डमाथि निकै दबाब सिर्जना गरेको थियो। खेलको अन्तिम समय (८५ औँ मिनेट) मा हाइटीका फ्रान्त्ज्डी पियरोटले गोल गर्ने सुवर्ण अवसर गुमाएका थिए। स्कटल्यान्डको बलियो रक्षापङ्क्तिका कारण हैटीले गोल फर्काउन सकेन।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट