Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

छैटौं सातामा पनि ‘लालीबजार’को दबदबा, विदेश प्रदर्शनको तयारी तीव्र


काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘लालीबजार’ प्रदर्शनको छैटौं सातामा प्रवेश गरेको छ। गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले निरन्तर दर्शकको साथ पाइरहेको छ।

यस वर्ष प्रदर्शनमा आएका नेपाली फिल्महरूमध्ये ‘लालीबजार’ व्यावसायिक रूपमा सर्वाधिक सफल फिल्ममध्ये एक बनेको छ। निर्माण टिमका अनुसार फिल्मले घरेलु बक्स अफिसमा हालसम्म ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ।

छैटौं सातामा पनि फिल्मले उल्लेख्य शो संख्या प्राप्त गरेकाले १० करोड रुपैयाँको आँकडा पार गर्ने अपेक्षा निर्माण पक्षको रहेको छ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ अब अन्तर्राष्ट्रिय प्रदर्शनको तयारीमा समेत जुटेको छ। निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्मको विदेश प्रदर्शन डेनमार्कबाट सुरु हुनेछ।

फिल्म आगामी असार ५, ६ र ७ गते डेनमार्कको कोपनहेगनमा प्रदर्शन गरिने कार्यक्रम तय भएको छ। नेपालमा दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र व्यावसायिक सफलतापछि विदेशमा पनि फिल्मप्रति चासो बढ्दै गएको निर्माता खत्रीले बताए। उनका अनुसार अन्य देशहरूमा प्रदर्शनसम्बन्धी तालिका समेत छिट्टै सार्वजनिक गरिनेछ।

यम थापाको कथा तथा निर्देशनमा बनेको ‘लालीबजार’मा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा, प्रशंसा सुवेदी, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल र गोविन्द सुनारलगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।

निर्माण टिमका अनुसार घरेलु बजारमा प्राप्त सफलतापछि ‘लालीबजार’लाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने तयारीलाई तीव्र बनाइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट