Techie IT
KTM Post
आईतबार, ३१ जेठ, २०८३

कांग्रेसका १ लाख ४९ हजारभन्दा बढी क्रियाशील सदस्यको फाराम वडा तहमा रोकियो, असार ५ भित्र अनुमोदन गर्न निर्देशन


काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई तीव्र बनाउन वडा तहलाई असार ५ गतेभित्र सबै बाँकी फाराम अनुमोदन गर्न निर्देशन दिएको छ। हालसम्म १ लाख ४९ हजार ३०९ जना क्रियाशील सदस्यले स्वयं अद्यावधिक फाराम भरे पनि सम्बन्धित वडाबाट अनुमोदन हुन बाँकी रहेको पाइएको छ।

महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले अनलाइन प्रणालीमार्फत प्राप्त भएका फाराम तोकिएको समयभित्र अनुमोदन गर्न वडा तहलाई निर्देशन दिएको हो।समितिले समयसीमाभित्र वडा तहबाट अनुमोदन नभएका तर विधानअनुसार योग्य देखिएका सदस्यहरूको हकमा केन्द्रबाट स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाइने जनाएको छ।

कांग्रेसका अनुसार डिजिटल प्रणालीमा रहेका कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये २०८३ जेठ २८ गतेसम्म ६ लाख ८७ हजार ९३१ जनाको विवरण अद्यावधिक प्रक्रियामा समावेश भइसकेको छ। तीमध्ये ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन्।बाँकी १ लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फाराम भरिसकेको भए पनि सम्बन्धित वडा तहबाट अनुमोदन हुन बाँकी रहेको समितिले जनाएको छ।

इन्टरनेट पहुँच न्यून रहेका उच्च हिमाली तथा दुर्गम क्षेत्रका केही जिल्ला, साथै बारा र खोटाङ जिल्लाका लागि क्रियाशील सदस्यता अद्यावधिकको समय असार ७ गतेसम्म थप गरिएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि भने यो समयसीमा असार १० गतेसम्म कायम गरिएको छ।त्यसैगरी, नयाँ क्रियाशील सदस्यता वितरण तथा आवेदन फाराम दर्ता गर्ने कार्य असार २० गतेसम्म जारी रहने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

समितिले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्दा बुझाउनुपर्ने शुल्क अनिवार्य रूपमा तिर्न निर्देशन दिएको छ। तोकिएको शुल्क नबुझाउने सदस्यले नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट गरिएको छ।विभिन्न कारणले समयमै अद्यावधिक हुन नसकेका क्रियाशील सदस्यहरूले आवश्यक प्रमाणसहित असार २० गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था पनि गरिएको छ। यस्तै, अद्यावधिक हुन बाँकी रहेका वडाहरूले आवश्यक समय माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने र सात दिनसम्म थप समय उपलब्ध गराउन सकिने समितिले जनाएको छ।

पार्टीले क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणको कार्यलाई १५औँ महाधिवेशनको मूल कार्यतालिका प्रभावित नहुने गरी व्यवस्थापन गर्ने तयारी गरेको जनाएको छ।

साथै, डिजिटल प्रणालीमा सदस्यको विवरण प्रविष्ट गर्दा भएका त्रुटि सच्याउन पनि असार महिनाभर आवेदन दिन सकिने व्यवस्था गरिएको छ। नागरिकता, मतदाता परिचयपत्रलगायतका प्रमाणका आधारमा सदस्यहरूको विवरण सच्याइने कांग्रेसले जनाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट