Techie IT
KTM Post
आईतबार, ३१ जेठ, २०८३

एमालेविरुद्ध फैलाइएका भ्रम चिर्दै जनतासँगको सम्बन्ध सुदृढ गर्ने संकल्प : महेश बस्नेत


काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीको पक्षमा दृढतापूर्वक उभिने नेता–कार्यकर्तामाथि गलत आरोप लगाएर लोकप्रिय बन्न खोज्ने तथा विरोधी शक्तिसँग साटघाट गर्ने प्रवृत्तिले पार्टी निर्माण हुन नसक्ने बताएका छन्।

बागमती प्रदेश कमिटीको बैठक सम्पन्न भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले पार्टी, अध्यक्ष तथा नेता–कार्यकर्तामाथि भइरहेको चौतर्फी आक्रमणको एकताबद्ध रूपमा प्रतिरोध गर्ने प्रतिबद्धता बैठकले व्यक्त गरेको बताए।

उनका अनुसार बैठकले एमालेविरुद्ध फैलाइएका भ्रम र नकारात्मक प्रचारको सामना गर्दै जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने तथा सामाजिक न्याय र जनहितका पक्षमा पार्टीलाई मजबुत रूपमा उभ्याउने संकल्प गरेको छ।

“पार्टीको पक्षमा दृढतापूर्वक उभिनेहरूलाई गलत आरोप लगाएर लोकप्रिय बन्न खोज्ने र विरोधीसँग साटघाट गर्ने प्रवृत्तिबाट पार्टी निर्माण हुन सक्दैन,” बस्नेतले भने, “पार्टी, पार्टी अध्यक्ष तथा नेता–कार्यकर्तामाथि भइरहेका चौतर्फी हमलाको एकताबद्ध रूपमा प्रतिरोध गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने जिम्मेवारी बहन गर्ने संकल्पका साथ बैठक सम्पन्न भएको छ।”

बस्नेतले बैठकमा सहभागी अधिकांश नेताहरूले पार्टी एकता, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारको पक्षमा धारणा राखेको जानकारी दिए। उनले विभिन्न विषयमा फरक दृष्टिकोण राख्ने नेताहरूका सुझावलाई समेत गम्भीरतापूर्वक ग्रहण गरिएको बताए।

उनका अनुसार बैठकले पार्टीभित्रको एकता थप बलियो बनाउँदै संगठनलाई प्रभावकारी रूपमा परिचालन गर्ने तथा जनतामाझ पार्टीका एजेन्डा र उपलब्धिहरूलाई अझ सशक्त रूपमा पुर्‍याउने निष्कर्ष निकालेको छ।

बस्नेतले आगामी दिनमा पार्टीलाई थप एकताबद्ध, सुदृढ र जनमुखी बनाउने प्रतिबद्धतासहित बैठक सम्पन्न भएको उल्लेख गरेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट