Techie IT
KTM Post
आईतबार, ३१ जेठ, २०८३

जनतासँग सम्बन्ध सुदृढ बनाउन एमालेको ‘६ ज’ नीति, स्थानीय निर्वाचन लक्षित मिसन जागरण अभियान सुरु


काठमाडौं । नेकपा एमालेले जनतासँगको सम्बन्ध सुदृढ गर्दै आगामी स्थानीय तह र प्रदेश निर्वाचनको तयारीलाई केन्द्रमा राखेर ‘मिसन जागरण’ अभियान सञ्चालन गर्ने भएको छ। अभियानका लागि पार्टीले ‘६ ज’ नीति अघि सारेको जनाएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार ‘जनतामा जाऔं, जनताका कुरा सुनौं, जनप्रिय बनौं, जनसंगठन परिचालन गरौं, जबजलाई आत्मसात गरौं र जनमत सर्वेक्षणका आधारमा सक्षम तथा प्रतिस्पर्धी नेतृत्व तयार गरौं’ भन्ने अवधारणामा अभियान केन्द्रित हुनेछ।

पार्टीले अभियानमार्फत जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्नुका साथै संगठन सुदृढीकरण, नेतृत्व विकास र जनमत निर्माणलाई प्राथमिकतामा राखेको छ। यससँगै डिजिटल संगठन निर्माण र प्रभावकारी प्रचार–प्रसारलाई पनि विशेष महत्व दिइएको छ।

एमालेले कार्यकर्ताहरूलाई सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्न निर्देशन दिँदै ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’ अर्थात् धारणा व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेको छ।

३१ पृष्ठ लामो अवधारणा पत्रमार्फत पार्टीका केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र र जिम्मेवारीसमेत निर्धारण गरिएको छ। आचार्यका अनुसार सबै केन्द्रीय सदस्यलाई विभिन्न पालिकाको जिम्मेवारी तोकिएको छ भने आवश्यकताअनुसार अन्य नेताहरूलाई समेत परिचालन गरिएको छ। जिम्मेवारी प्राप्त नेताहरूको कार्यसम्पादन अनुगमन गर्ने व्यवस्था पनि गरिएको छ।

अभियानअन्तर्गत केन्द्रबाट खटिने नेताहरूलाई होटलमा बस्नुभन्दा जनताकै घरमा बस्दै स्थानीय जनजीवन बुझ्न सुझाव दिइएको छ। पार्टीले यो अभियान आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनसम्म निरन्तर सञ्चालन गर्ने जनाएको छ।

अवधारणा पत्रमा गत निर्वाचनको समीक्षा, पार्टीले भोग्नुपरेको पराजयका कारण तथा कार्यकर्ता र जनतामा देखिएको निराशाका विषयलाई समेत समेटिएको छ। एमालेले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेकपाको गठनबाट उत्साहित बनेको जनमत पार्टी एकता विघटन र त्यसपछिको विभाजनका कारण निराश भएको निष्कर्ष निकालेको छ।

दस्तावेजमा पछिल्ला वर्षहरूमा वैकल्पिक राजनीतिक शक्तिप्रति बढ्दो आकर्षणलाई पनि विश्लेषण गरिएको छ। साथै पार्टीका उपलब्धि र सरकारका सकारात्मक कामहरू प्रभावकारी रूपमा जनतामाझ पुर्‍याउन नसक्दा राजनीतिक रूपमा नकारात्मक असर परेको उल्लेख गरिएको छ।

प्रचार विभाग प्रमुख आचार्यका अनुसार अभियानमा खटिने नेताहरूलाई वर्तमान राजनीतिक अवस्था, विगतका निर्वाचन परिणाम, पार्टीका चुनौती र भावी रणनीतिबारे स्पष्ट बुझाइ दिन विस्तृत अवधारणा पत्र तयार गरिएको हो।

उनले पार्टी संगठनलाई डिजिटल युगअनुकूल बनाउने, जनतासँगको सम्बन्ध थप सुदृढ गर्ने तथा कमिटी प्रणालीलाई प्रभावकारी बनाउने विषयमा समेत दस्तावेजमा विशेष जोड दिइएको जानकारी दिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट