चारदिने औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङ पुगे
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन्।
गएराति नेपालबाट प्रस्थान गरेका मन्त्री खनाल स्थानीय समयअनुसार आइतबार अपराह्न बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्। विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए।
भ्रमणको पहिलो दिन बेइजिङस्थित नेपाली दूतावासले मन्त्री खनालको सम्मानमा विशेष स्वागत कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा समसामयिक विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य, विकास साझेदारी, व्यापार, लगानी तथा आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, उनले चीन सरकारका अन्य उच्च अधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना गरिने लगानी सम्मेलनमा मन्त्री खनाल मुख्य अतिथिका रूपमा सहभागी हुनेछन्। सम्मेलनमा उनले चिनियाँ लगानीकर्ताहरूसँग नेपालमा उपलब्ध लगानीका सम्भावना, नीतिगत सुधार तथा आर्थिक सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
चारदिने भ्रमण पूरा गरी परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया