ज्येष्ठ नागरिक र अशक्तका लागि घरमै स्वास्थ्य सेवा, काठमाडौं महानगरले ल्यायो विशेष कार्यक्रम
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक सुरक्षा, जनस्वास्थ्य तथा स्थानीय विकासलाई प्राथमिकतामा राख्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
आइतबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोल ले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूलाई लक्षित ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर’ कार्यक्रम सञ्चालन गरिने घोषणा गरिन्।कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीहरूलाई नागरिकको घरदैलोमै पठाई निःशुल्क स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक सेवाहरू उपलब्ध गराइने महानगरले जनाएको छ। यसबाट ज्येष्ठ तथा अशक्त नागरिकलाई स्वास्थ्य सेवा पहुँचमा सहजता हुने विश्वास गरिएको छ।
महानगरपालिकाले सामाजिक सुरक्षालाई थप सुदृढ बनाउँदै ७५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक तथा पूर्ण अशक्तता भएका महानगरवासीलाई विशेष पोषण भत्ता उपलब्ध गराउने नीति पनि अघि सारेको छ।कार्यवाहक प्रमुख डंगोलले नागरिकहरूको बुढ्यौली तथा शारीरिक असमर्थताको अवस्थामा राज्यको अभिभावकीय भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको बताइन्।
त्यसैगरी, महानगरले ‘एक वडा, एक नमुना कार्यक्रम’लाई थप प्रभावकारी, दिगो र परिणाममुखी बनाउँदै संस्थागत गर्ने नीति लिएको छ। प्रत्येक वडाको आवश्यकता, भौगोलिक अवस्था र स्थानीय विशेषताअनुसार नमुना योजना कार्यान्वयन गरी स्थानीय विकासलाई गति दिने महानगरको लक्ष्य रहेको छ।महानगरपालिकाका अनुसार आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम सामाजिक सुरक्षा, स्वास्थ्य सेवा विस्तार र समुदायकेन्द्रित विकासलाई केन्द्रमा राखेर तयार गरिएको हो।
क्याटेगोरी : समाचार













प्रतिक्रिया