Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

एकद्वार प्रणालीबाट फोहोर शुल्क उठाउने काठमाडौं महानगरको तयारी


काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप आधुनिक, व्यवस्थित र पारदर्शी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको छ।

नगरसभाको १९औँ अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक महानगर प्रमुख सुनिता डंगोल ले ‘प्रदूषकले तिर्ने’ अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार फोहोरमैला व्यवस्थापन सेवा शुल्क संकलनको कानुनी तथा व्यावहारिक व्यवस्था गरिने जानकारी दिइन्।महानगरका अनुसार नयाँ व्यवस्थाले फोहोर उत्पादन गर्ने व्यक्ति वा संस्थाले नै व्यवस्थापनको खर्च वहन गर्ने प्रणालीलाई संस्थागत बनाउनेछ।

यसबाट शुल्क संकलन प्रक्रिया थप पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ।फोहोर व्यवस्थापनको केन्द्रका रूपमा रहेको बन्चरेडाँडा डम्पिङ साइट मा फोहोर विसर्जन गर्ने छिमेकी स्थानीय तहहरूसँग पनि नयाँ ढंगले सहकार्य गरिने महानगरले जनाएको छ। फोहोरको मात्रा र प्रकृतिका आधारमा सम्बन्धित स्थानीय तहसँग द्विपक्षीय साझेदारीको व्यवस्था गर्न विशेष पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

महानगरपालिकाले फोहोर व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन अनलाइन एप सञ्चालनमा ल्याउने योजना पनि सार्वजनिक गरेको छ। उक्त एपमार्फत फोहोर व्यवस्थापनसम्बन्धी सूचना, तथ्यांक र सेवासम्बन्धी विवरण महानगर, सम्बन्धित निकाय, निजी सेवा प्रदायक तथा नागरिकको पहुँचमा रहनेछ। यसले सरोकारवाला निकायबीच सूचना आदानप्रदान र समन्वयलाई सहज बनाउने विश्वास गरिएको छ।

यस्तै, आगामी वर्ष वातावरणीय सुधार, आधुनिक फोहोर व्यवस्थापन तथा प्रदूषण नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रममा वायु, जल, जमिन, ध्वनि तथा दृश्य प्रदूषण नियन्त्रणका लागि आधुनिक प्रविधिको अधिकतम प्रयोग गरिने उल्लेख गरिएको छ।

महानगरपालिकाले वातावरण संरक्षण, सहरी सौन्दर्यीकरण र प्रदूषण न्यूनीकरणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघीय सरकार, प्रदेश सरकार, स्थानीय निकाय तथा वातावरणविद्हरूसँग सहकार्य र साझेदारीलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट