Techie IT
KTM Post
आईतबार, ३१ जेठ, २०८३

नेपालमा बस्ने विदेशीले बसोबासको विवरण दर्ता गर्नु पर्ने


काठमाडौं । नेपालमा बसोबास गर्ने विदेशी नागरिकको विवरण दर्ता अनिवार्य हुने व्यवस्था कडाइका साथ लागू गर्ने तयारी गृह मन्त्रालयले गरेको छ। यसका लागि अध्यागमनसम्बन्धी प्रचलित कानुन संशोधन गरी नयाँ विधेयक अघि बढाइएको छ।

गृह मन्त्रालयले तयार पारेको मस्यौदाको दफा १० अनुसार नेपाल प्रवेश गर्ने विदेशीले आफ्नो बसोबास स्थान, सम्पर्क नम्बर वा सम्पर्क व्यक्तिको विवरण अध्यागमन जाँच बिन्दुमै अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ।

त्यस्तै, नेपालभित्र कुनै आवासमा विदेशी बसोबास गरेमा उक्त आवासका सञ्चालक वा धनीले ती विवरण संकलन गरी अध्यागमन कार्यालय, प्रहरी कार्यालय, मन्त्रालयअन्तर्गतका सम्बन्धित निकाय वा स्थानीय तहको वडा कार्यालयमा वा अध्यागमन सूचना प्रणालीमार्फत उपलब्ध गराउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

शैक्षिक संस्था, विश्वविद्यालय तथा अन्य संस्थामा अध्ययन वा बसोबासका लागि रहेका विदेशीहरूको विवरण पनि सम्बन्धित संस्थाले नै दर्ता गराउनुपर्नेछ। साथै, अस्पताल, नर्सिङ होम तथा अन्य स्वास्थ्य संस्थामा उपचारका क्रममा बसोबास सुविधा पाएका विदेशी र उनीहरूका सहयोगीको विवरण समेत अनिवार्य रूपमा दर्ता गर्नुपर्ने मस्यौदामा उल्लेख छ।

मस्यौदामा ‘आवास’ भन्नाले होटल, होमस्टे, मोटेल, गेस्ट हाउस, धर्मशाला, ध्यान केन्द्र, योग केन्द्र, होस्टेल, अपार्टमेन्ट वा निजी घरसमेतलाई जनाउने स्पष्ट गरिएको छ।

गृह मन्त्रालयका अनुसार यो व्यवस्था विदेशीको नेपाल प्रवेश, बसोबास र प्रस्थानलाई व्यवस्थित बनाउन तथा नेपाली नागरिकको विदेश यात्रा प्रक्रियालाई समेत नियमित गर्नका लागि ल्याइएको हो।

नयाँ प्रावधान अनुसार कुनै पनि विदेशीलाई नेपाल प्रवेश वा बसोबास अनुमति दिने वा नदिने अधिकार नेपाल सरकारमा निहित रहनेछ। साथै, विदेशी नागरिकले प्रवेश वा बसोबासका लागि मान्य राहदानी र भिसा अनिवार्य रूपमा लिनुपर्नेछ।

सरकारले अन्तर्राष्ट्रिय सम्झौताका आधारमा केही देशका नागरिकलाई विशेष सुविधा दिन सक्ने व्यवस्था पनि प्रस्ताव गरेको छ, जसअन्तर्गत तोकिएका कागजातहरू पेश गर्नुपर्नेछ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट