Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

सुदूरपश्चिम प्रदेशको बजेट आज सार्वजनिक हुँदै, अहिलेसम्मकै ठूलो आकारको बजेट ल्याउने तयारी


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट आज प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ।

यस वर्ष प्रदेश सरकारले हालसम्मकै सबैभन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेको बताइएको छ। बजेटको आकार वृद्धि गर्न चालु आर्थिक वर्षको खर्च बचत तथा आन्तरिक राजस्व वृद्धिलाई मुख्य आधार बनाइएको स्रोतले जनाएको छ।

प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारका अनुसार चालु आर्थिक वर्षको बजेटबाट कम्तीमा ८ अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको छ। यही बचत रकमलाई आगामी बजेटको आकार विस्तारका लागि उपयोग गर्ने तयारी गरिएको छ।

प्रदेश सरकारले आन्तरिक राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा गरेको छ। वनजन्य स्रोतसाधन, गिट्टी–बालुवा लगायत प्राकृतिक स्रोतको उपयोगबाट प्राप्त हुने राजस्व बढ्ने अनुमानका आधारमा बजेट निर्माण भइरहेको सम्बन्धित अधिकारीहरूको भनाइ छ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले आन्तरिक राजस्वबाट १ अर्ब ६५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो। आगामी वर्ष उक्त रकम अझ बढ्ने अपेक्षा गरिएको छ।

यसपटक पनि प्रदेश सरकारले सांसदहरूका लागि छुट्टै बजेट विनियोजन गर्ने तयारी गरेको छ। यसका लागि सांसदहरूबाट आयोजनाको विवरण तथा बजेट प्रस्ताव संकलन गरिसकिएको छ। सरकारको योजना अनुसार सांसदहरूको सिफारिसमा सञ्चालन हुने आयोजनाका लागि कुल ३ अर्ब २९ करोड रुपैयाँ छुट्याइएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सांसदहरूबाट प्रस्तावित आयोजना तथा बजेट विवरण प्राप्त गरिसकेको जनाएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले आगामी बजेटमा २५ लाख रुपैयाँभन्दा कम लागतका आयोजना समावेश नगरिने घोषणा यसअघि नै गरिसकेका छन्।

मुख्यमन्त्री शाह नेतृत्वको सरकारले प्रस्तुत गर्ने यो तेस्रो बजेट हुनेछ। यसअघि एक बजेट तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीको नेतृत्वमा प्रस्तुत गरिएको भए पनि उक्त बजेट प्रदेश सभाबाट पारित हुन सकेको थिएन।

आज सार्वजनिक हुने बजेटले प्रदेशको विकास प्राथमिकता, राजस्व व्यवस्थापन तथा आगामी वर्षको आर्थिक दिशा तय गर्ने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट