Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

ल्यान्डिङ गियरमा समस्या आएपछि बुद्ध एयरको जहाज आकस्मिक रूपमा काठमाडौं फर्काइयो


काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक विमानमा प्राविधिक समस्या देखिएपछि आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काएर सुरक्षित अवतरण गराइएको छ।

सोमबार बिहान करिब ७ः०५ बजे काठमाडौंबाट जनकपुरतर्फ उडेको विमानमा ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या देखिएपछि उडान बीचमै रोक्दै जहाजलाई काठमाडौं फर्काइएको हो।प्राविधिक समस्या पहिचान भएपछि विमानलाई आपत्कालीन सावधानी अपनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार विमान सुरक्षित रूपमा अवतरण गरिएको छ र जहाजमा रहेका सबै यात्रु तथा चालक दलका सदस्य सकुशल छन्।

“उडानका क्रममा प्राविधिक समस्या देखिएपछि विमानलाई काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको हो। सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन्,” प्रवक्ता कुमारले बताए।विमानमा देखिएको समस्याको कारणबारे विस्तृत प्राविधिक परीक्षण भइरहेको उनले जानकारी दिए। प्रभावित यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन वैकल्पिक उडान व्यवस्थापनको प्रक्रिया पनि अघि बढाइएको जनाइएको छ।घटनापछि विमानस्थलको उडान तथा अवतरण सेवा भने सामान्य रूपमा सञ्चालन भइरहेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट