लुम्बिनी प्रदेशको बजेट आज सार्वजनिक हुँदै, विकास र समृद्धिलाई प्राथमिकता
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि आज बजेट सार्वजनिक गर्ने भएको छ। प्रदेश सभाको साँझ ५ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
आगामी बजेटमार्फत प्रदेश सरकारले विकास निर्माण, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षको बजेटको आकार तथा प्राथमिकता सार्वजनिक भएपछि प्रदेशको विकास रणनीति थप स्पष्ट हुने बताइएको छ।
प्रदेश सरकारका अनुसार आगामी बजेट ‘समृद्ध लुम्बिनीः सुखी नागरिक’ भन्ने दीर्घकालीन सोचलाई केन्द्रमा राखेर तयार गरिएको छ। बजेट निर्माणमा दोस्रो आवधिक योजना तथा दिगो विकास लक्ष्य (एसडीजी) लाई समेत आधार बनाइएको जनाइएको छ।
सरकारले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिँदै प्रदेशको आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य लिएको छ।
आज प्रस्तुत हुने बजेटले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारको नीति, प्राथमिकता र विकासको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया