कोशीको बजेट आज, सांसदहरूमार्फत् बाँडिदै विकास बजेट
काठमाडौं । मुलुकका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दैछन्। नेपालको संविधानअनुसार प्रदेश सरकारले प्रत्येक वर्ष असार १ गते आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।
यसैक्रममा कोशी प्रदेश सरकारले अघिल्लो वर्षको तुलनामा बजेटको आकार बढाउँदै करिब ४० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सभाको आज अपराह्न ४ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
आर्थिक मामिला मन्त्रालय स्रोतका अनुसार यसपटक बजेटको आकार विगतको तुलनामा केही विस्तार गरिएको छ। संघीय सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, प्रदेशको आन्तरिक आम्दानी तथा संचित कोषमा रहेको रकमलाई आधार बनाएर बजेटको आकार बढाइएको हो।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेश सरकारले प्रारम्भिक रूपमा ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको थियो। तर, खर्च क्षमता र स्रोत व्यवस्थापनलाई ध्यानमा राख्दै मध्यावधि समीक्षामार्फत बजेटलाई संशोधन गरी ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा सीमित गरिएको थियो।
आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट करिब १६ अर्ब ५० करोड रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी राजस्व बाँडफाँटमार्फत करिब १३ अर्ब रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। बाँकी रकम प्रदेशको आन्तरिक राजस्व तथा संचित कोषबाट व्यवस्थापन गर्ने तयारी छ।
यसपटकको बजेटमा सांसदहरूलाई उपलब्ध गराइने विकास योजनासम्बन्धी बजेटमा समेत वृद्धि गरिएको छ। स्रोतका अनुसार प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालन गर्न सक्ने योजनाका लागि चार करोड रुपैयाँसम्मको बजेट प्रस्ताव गर्न पाउने व्यवस्था गरिएको छ। समानुपातिक प्रणालीबाट निर्वाचित सांसदका लागि भने दुई करोड ५० लाख रुपैयाँसम्मका योजना बजेटमा समावेश गरिने तयारी छ।
सांसदमार्फत सञ्चालन हुने विकास योजनालाई लिएर विगतदेखि नै विवाद हुँदै आएको छ। आलोचकहरूले यसले जनप्रतिनिधिलाई नीति निर्माणकर्ताभन्दा पनि योजना कार्यान्वयनकर्ताको भूमिकामा पुर्याएको भन्दै प्रश्न उठाउँदै आएका छन्। सांसद विकास कोषसम्बन्धी विषय अदालतसम्म पुगेको भए पनि विभिन्न स्वरूपमा प्रदेश सरकारले सांसदहरूलाई विकास बजेट उपलब्ध गराउने अभ्यासलाई निरन्तरता दिँदै आएको छ।
आज सार्वजनिक हुने बजेटले कोशी प्रदेशको आगामी आर्थिक वर्षको विकास प्राथमिकता, पूर्वाधार निर्माण, सामाजिक क्षेत्रको लगानी तथा आर्थिक गतिविधिको दिशा तय गर्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया