आजदेखि इलामका सबै चिया उद्योग बन्द
काठमाडौं । भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सिर्जना गरेपछि सोमबार ९आज० देखि इलामका चिया उद्योगहरू बन्द भएका छन् । भारतले गुणस्तर जाँचको बहानामा डेढ महिनादेखि नेपाली चिया निर्यातमा अड्चन खडा गरेपछि उद्योगीहरूले आजदेखि उद्योग बन्द गर्ने निर्णय लिएका हुन् ।
निकासीमा अवरोध हुँदा उत्पादित चियाले बजार पाउन सकेको छैन, जसका कारण चिया गोदाममै बिग्रने जोखिम बढेपछि यस्तो कठोर कदम चाल्न बाध्य भएको व्यवसायीहरूले बताएका छन् ।
आजदेखि इलामका ५६ वटै उद्योग बन्द गरिएको छ भने बुधबारदेखि झापाका ३० वटा चिया उद्योग बन्द गर्ने निर्णय भएको छ ।
यससँगै चिया किसान, मजदुर र उद्योगीले सरकारलाई दवाव दिन काँकरभिट्टा नाकाबाट भारतीय उत्पादन भित्रिन नदिने र नाका अवरुद्ध गर्ने लगायतका आन्दोलन गर्ने तयारी गरेको जनाइएको छ । इलाममा वार्षिक ६५ लाख किलो र झापामा वार्षिक २ करोड किलो चिया उत्पादन हुँदै आएको छ । यी उद्योगमा एकलाख मजदुर र किसानका ३० हजार घर परिवार जोडिएका छन् । यहाँ उत्पादित चियाको ९० प्रतिशत बजार भारत हो ।
भारतीय चिया बोर्डले नेपाली चियाको गुणस्त परीक्षणका नाममा भारत पुगेको झण्डै दुईलाख किलो चिया बजारमा निकाल्न नदिएर आयतकर्ताको गोदाममै थन्क्याएको र निकासी अवरुद्ध हुँदा १० लाख किलो भन्दाबढी चिया उद्योगमै कुहिने अवस्था आउदा पनि सरकारले निकासी सहजताका लागि कुनै कुटनीतिक पहल नगरेको भन्दै उद्योगीले उद्योग नै बन्दको विकल्प रोजेका हुन् ।
यसैक्रममा इलामको सुर्योदय अर्थोडक्स टी प्रोडुसर्स एशोसिएसनले विज्ञप्ती सार्वजनिक गर्दै असार १ गतेदेखि सूर्योदय नगरपालिका भित्रका सबै अर्थोडक्स चिया उद्योग बन्द हुने घोषणा गरेको थियो ।
गत बैशाख १८ देखि भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो।
चालु आर्थिक वर्षको वैशाखसम्ममा ३ अर्ब ३५ करोड मूल्य बराबरको ११ हजार ४ सय टन नेपाली चिया निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । गत वर्ष ४ अर्ब ५९ करोड मूल्यको १५ हजार ६ सय टन चिया निकासी भएको निकासी प्रवद्धन केन्द्रको तथ्यांक छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया