प्रतिनिधिसभामा साम्पाङ र झाबीच जुहारी, ‘बालहठ नगर्नुस्’ भन्दै नियमापत्ति
काठमाडौं । प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदहरूबीच विवाद उत्पन्न भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित विनियोजनमाथिको छलफलका क्रममा सांसद हर्कराज राई (साम्पाङ) र रास्वपा सांसद मनिष झाबीच संसदीय नियमलाई लिएर जुहारी भएको हो।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उद्योगमन्त्री गौरी कुमारी सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेकी थिइन्। सोही क्रममा श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद साम्पाङ आफ्नो प्रश्नको विषयमा पुनः स्पष्टीकरण माग्दै उठेका थिए।
सभामुख डोलप्रसाद अर्यालले स्पष्टीकरणमाथि फेरि स्पष्टीकरणको व्यवस्था नरहेको भन्दै सांसद साम्पाङलाई बस्न आग्रह गरेका थिए। तर उनले आफ्नो असन्तुष्टि दोहोर्याउँदै अवरोध जारी राखेपछि संसदमा केहीबेर असहज स्थिति सिर्जना भएको थियो।
त्यसपछि रास्वपाका सांसद मनिष झाले नियमापत्ति जनाउँदै प्रतिनिधिसभा नियमावलीको व्यवस्था स्मरण गराएका थिए। उनले नियमावलीको दफा ५४ र ५५ मा प्रश्नोत्तर सम्बन्धी प्रावधान स्पष्ट रहेको उल्लेख गर्दै मन्त्रीलाई आफ्नो उत्तर अन्तिम रूपमा प्रस्तुत गर्ने अधिकार रहेको बताए।
“मन्त्रीज्यूले ‘मेरो उत्तर यही हो’ भन्न पाउनुहुन्छ। पटकपटक उही विषयमा बहस गरिरहनु नियमसम्मत हुँदैन,” सांसद झाले भने।
उनले सांसद साम्पाङलाई लक्षित गर्दै संसदमा नियम र प्रक्रियाको सम्मान गर्न आग्रह गरे। “नियम कानुनको कुरा गर्ने हो भने नियम स्पष्ट रूपमा लेखिएको छ। कृपया नियम पढ्नुस् र पटकपटक बालहठ नगर्नुस्,” उनले भने।
बजेटमाथिको छलफल जारी रहेका बेला संसदमा देखिएको यो घटनाले संसदीय मर्यादा, प्रश्नोत्तर प्रक्रिया र नियमको पालनाबारे पुनः बहस सिर्जना गरेको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया