Techie IT
KTM Post
बिहीबार, ३१ वैशाख, २०८३

नेप्से घट्ने क्रम जारी, कारोबार रकम ३ अर्ब २९ करोड


काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १०.०७ अंक घटेर २७३०.१७ विन्दुमा झरेको छ।नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार २ अर्ब ८० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३७ स्टकको ४६ हजार ४०२ पटकको कारोबारमा ३ अर्ब २९ करोड २ लाख ४४ हजार रुपैयाँबराबरको ७९ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २ प्रतिशत घटेको छ। बाँकी अरु उपसमूहहरुको परिसूचक भने यस दिन सामान्य घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ६८ लाख २६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन साहस उर्जा र एसवाई प्यानल नेपालको साढे १८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ।

यस दिन यूनियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.७९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट