सिमरा SEZ को ४९० बिघा जमिन अतिक्रमणमा, हटाउने प्रक्रिया सुरु
काठमाडौं । सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गतको ठूलो परिमाणको जमिन अतिक्रमणमा परेको पाइएको छ। प्राधिकरणका अनुसार करिब ४९० बिघा जमिनमा अतिक्रमण भई हाल ६०० भन्दा बढी व्यक्तिले घरटहरा निर्माण गरी बसोबास गर्दै आएका छन्।
कुल ८३३ बिघा क्षेत्रफलमध्ये हाल ३४३ बिघामा मात्र उद्योग सञ्चालन तथा निर्माण कार्य भइरहेको छ भने बाँकी जमिनमा अनधिकृत रूपमा खेतीपाती र बसोबास भइरहेको छ।
प्राधिकरणका साइट इन्चार्ज इन्जिनियर पप्पु गिरीका अनुसार अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइसकिएको छ। यसका लागि जितपुरसिमरा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बारा र प्रहरीसँग समन्वय भइरहेको छ। स्थानीयलाई घरटहरा हटाउन, बालीनाली उठाउन र नयाँ खेती नगर्न सूचना दिइसकिएको उनले बताए।
यसैबीच, सबइन्जिनियर अजयकुमार चौधरीका अनुसार वीरगञ्ज चिनी कारखाना बन्द भएपछि ९३ कामदारलाई अस्थायी रूपमा बसोबास र खेतीका लागि जमिन दिइएको थियो, जसबाट विस्तारै अतिक्रमण बढ्दै गएको देखिन्छ।
प्रशासनले पनि अतिक्रमण हटाउने क्रममा आवश्यक शान्तिसुरक्षा प्रदान गर्न तयार रहेको जनाएको छ। SEZ क्षेत्रभित्र ‘ए’ ब्लकमा उद्योग सञ्चालन भइरहेका छन् भने अन्य ब्लकहरूमा भने अझै अतिक्रमणको समस्या देखिएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया