१० महिनामा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालमा ४५ अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म ७२८ वटा परियोजनामार्फत कुल ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो।
विभागको तथ्याङ्कअनुसार चैत मसान्तसम्म ६१५ परियोजनाबाट ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो। वैशाख महिनामा मात्रै थप ११३ परियोजनामार्फत तीन अर्ब ५२ करोड ३० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको देखिएको छ।
यो अवधिमा सबैभन्दा धेरै लगानी कृषिमूलक उद्योगमा केन्द्रित भएको छ। १६ वटा कृषिमूलक परियोजनामा २२ अर्ब आठ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
त्यसैगरी पर्यटन क्षेत्रका १८९ परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ, सेवामूलक ५५ परियोजनामा चार अर्ब २३ करोड २४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
उत्पादनमूलक ४२ परियोजनामा दुई अर्ब ७० करोड रुपैयाँ, पूर्वाधार क्षेत्रको एक परियोजनामा एक अर्ब ६५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। सूचना प्रविधि क्षेत्रका ४२१ परियोजनामा एक अर्ब ७४ करोड ३८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
ऊर्जामूलक दुई परियोजनामा २३ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने सबैभन्दा कम खनिजमूलक दुई परियोजनामा ११ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको तथ्याङ्कमा उल्लेख छ।
यसैबीच नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको नौ महिनामा १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी आठ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो। यस आधारमा अघिल्लो वर्षको तुलनामा पाँच अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी वृद्धि भएको देखिन्छ।
यद्यपि, प्रतिबद्धता गरिएको लगानीको तुलनामा वास्तविक लगानी भित्रिने दर भने अझै न्यून रहेको देखिएको छ।
त्यस्तै चालु आवको नौ महिनामा खुद पुँजीगत ट्रान्सफर १४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर सात अर्ब ७१ करोड रुपैयाँ रहेको थियो। यसले अघिल्लो वर्षको तुलनामा नेपालबाट पुँजीगत ट्रान्सफर उल्लेख्य रूपमा बढेको संकेत गरेको छ।
क्याटेगोरी : अर्थ











प्रतिक्रिया