घरजग्गा कर्जामा मन्दी कायमै, ९ वटा वाणिज्य बैंकको कर्जा प्रवाह बढ्दा ११ वटाको घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सहज बनाउन नीतिगत लचकता अपनाए पनि त्यसको प्रभाव बैंकहरूको लगानीमा देखिन सकेको छैन। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म घरजग्गा क्षेत्रमा जाने कर्जा लगानी सुस्त बनेको देखिएको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्म २० वाणिज्य बैंकबाट घरजग्गा क्षेत्रमा कुल २ खर्ब १५ अर्ब २८ करोड ९१ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब ३५ अर्ब ८ करोड ३५ लाख रुपैयाँ रहेको थियो। यस आधारमा घरजग्गा कर्जा लगानीमा ८.४२ प्रतिशतको गिरावट आएको छ।
समीक्षा अवधिमा ९ वटा बैंकले घरजग्गा क्षेत्रमा कर्जा लगानी बढाएका छन् भने ११ वटा बैंकको लगानी घटेको छ। सबैभन्दा बढी घरजग्गा कर्जा प्रवाह गर्ने बैंक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बनेको छ भने वृद्धिदरका हिसाबले कृषि विकास बैंक अगाडि देखिएको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु वर्षको चैतसम्म २४ अर्ब ३८ करोड १७ लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको लगानी २५ अर्ब ३० करोड २२ लाख रुपैयाँ रहेको थियो। बैंकको कर्जा लगानीमा ३.६४ प्रतिशतले कमी आएको छ।
यस्तै, घरजग्गा क्षेत्रमा दोस्रो ठूलो कर्जा लगानी गर्ने बैंक एनआईसी एसिया बैंक रहेको छ। बैंकले समीक्षा अवधिमा २० अर्ब ५८ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २५ अर्ब ७० करोड २ लाख रुपैयाँ लगानी गरेको थियो। यससँगै बैंकको कर्जा लगानी १९.९२ प्रतिशतले घटेको छ।
प्राइम कमर्सियल बैंक घरजग्गा क्षेत्रमा तेस्रो धेरै कर्जा लगानी गर्ने बैंक बनेको छ। बैंकले चालु वर्षको चैतसम्म २० अर्ब ३७ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा २२ अर्ब ६७ करोड १३ लाख रुपैयाँ लगानी गरेको बैंकको कर्जा प्रवाह १०.१३ प्रतिशतले घटेको छ।
यता, कृषि विकास बैंकले भने घरजग्गा क्षेत्रमा सबैभन्दा उच्च वृद्धि हासिल गरेको छ। बैंकको कर्जा लगानी अघिल्लो वर्षको तुलनामा ६१.५१ प्रतिशतले बढेर ३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
सबैभन्दा कम घरजग्गा कर्जा प्रवाह गर्ने बैंक नेपाल एसबीआई बैंक रहेको छ। बैंकले समीक्षा अवधिमा १३ करोड ९८ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६५.१४ प्रतिशतले कम हो।
क्याटेगोरी : अर्थ











प्रतिक्रिया